काठमाण्डौ । चीनको वुहानमा गत डिसेम्बरमा कोभिड १९ को पहिलो केश बाहिर आएको थियो । त्यसपछि बिस्तारै यो भाइरसले बुहानलाई आफ्नो नियन्त्रणमा लियो । त्यसपछि अहिले पूरा विश्वलाई आक्रान्त बनाइदिएको छ । 

वुहानको अहिलेको अवस्था सामान्य छ । तर, चिनियाँ अधिकारीहरुले २ हप्ताभित्र बुहानका प्रत्येक व्यक्ति अर्थात १ करोड १० लाखको कोरोना परीक्षण गर्ने घोषणा गरिसकेका छन् । 

उनीहरुका अनुसार चीनको कारोबार तथा स्कूलहरु खोल्नुअघि यसरी परीक्षण गर्न अत्यावश्यक छ । यो क्रममा कुनै लक्षण नै नभएका कोरोना संक्रमितहरु समेत पत्ता लाग्ने अपेक्षा गरिएको छ । 

यो सिलसिलामा वुहानमा १८ मेमा ४ लाख ६७ हजार ८४७ जनाको परीक्षण गरियो । बिहीबार वुहानमा एकैदिन १० लाख भन्दा बढीको टेस्ट गरिएको छ । शुक्रबार त चीनले पूरा विश्वलाई आश्चर्यमा पार्दै १४ लाख ७० हजार ९५० व्यक्तिको कोरोना टेस्ट गरिदियो । 

दैनिक लाखौंको टेस्ट भए पनि वुहानमा कोरोनाका नयाँ संक्रमित भने फेला परेका छैनन्, यसलाई चिनियाँ अधिकारीहरुले सुखद कुरा भनेका छन् । 

चीनमा ८४ हजार बढीमा कोरोना संक्रमण भएको थियो । यीमध्ये ४ हजार ६०० व्यक्तिको ज्यान गएको थियो ।