काठमाण्डौ । चीनको अर्थतन्त्र धेरै वर्षदेखि रकेटको गतिमा उड्यो। यसमा घरजग्गा क्षेत्रको सबैभन्दा ठूलो भूमिका रह्यो । 

बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण त्यहाँ घरजग्गाको कारोबार बढ्दै गयो । चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गाले ३० प्रतिशत हिस्सा ओगटेको छ । तर अहिले यही क्षेत्रचीनको अर्थतन्त्रका लागि समस्या बनेको छ । 

यो संकट दुई वर्षअघि चिनियाँ सरकारले डेभलपर्सहरुको ऋणको विषयमा कडा कारबाही गर्दा सुरु भएको थियो। यही कारण अहिले चीनको घरजग्गा लगानी एक दशकमा पहिलो पटक घटेको छ। यस क्षेत्रलाई बेलआउट दिने सरकारको कुनै योजना छैन। 

रियल इस्टेट संकटले चीनको अर्थतन्त्रलाई डुबाउने दाबी गरिएको छ । जसका कारण चीनले आगामी तीनदेखि पाँच वर्षसम्म संघर्ष गर्नुपर्ने हुनसक्ने विश्लेषकहरु दाबी गर्छन् ।

गत महिना, त्यहाँका एक उच्च अधिकारीले भनेका थिए कि देशमा जनसंख्या भन्दा बढी घरहरू खाली छन्। सरकारले अत्यधिक आपूर्ति घटाउने नीति बनाएको छ । यसमा सहरहरूमा जग्गा बिक्रीको गति सुस्त पार्नु र माग बढाउन फ्ल्याटको मूल्य घटाउनुपर्ने हुन्छ । 

यस संकटका कारण सन् २०२६ सम्ममा चीनको आर्थिक वृद्धिदर वार्षिक १.५ प्रतिशतले घट्नसक्ने विज्ञहरू बताउँछन्। विश्व बैंकले सन् २०२४ को लागि चीनको जीडीपी प्रक्षेपण ४.८ प्रतिशतबाट घटाएर ४.४ प्रतिशत बनाएको छ । 

केही दिन अघि आईएमएफले पनि मध्यम अवधिमा चीनको वृद्धि प्रक्षेपणलाई ३.५ प्रतिशतमा सीमित पारेको थियो । 

यसअघि चीनको जीडीपी वृद्धि सन् १९८९ मा ४.२ प्रतिशत र सन् १९९० मा ३.९ प्रतिशत थियो। त्यसपछि झण्डै तीन दशकसम्म चीनको अर्थतन्त्रमा ठूलो वृद्धि भएको थियो। तर रियल इस्टेट संकटले चीनको समस्या बढायो। 

यो समस्या डिसेम्बर २०२१ मा सुरु भयो जब इभरग्राण्डमाथि राज्यको बक्रदृष्टि पर्न थाल्यो । यो कम्पनीको ३ सय अर्ब डलरभन्दा बढी ऋण छ । गत हप्ता कम्पनीका संस्थापक र अध्यक्ष पक्राउ परेका थिए । घरजग्गासँग सम्बन्धित अन्य धेरै कम्पनीहरू पनि यस्तै समस्यामा छन्।

सम्पत्ति बजारमा स्थिरताका कारण, चिनियाँ सरकारले आर्थिक वृद्धिदर बढाउन वैकल्पिक उपायहरू खोजिरहेको छ। 

गत महिना राष्ट्रपति सी जिनपिङले नयाँ प्रकारको औद्योगिकीकरणलाई प्रवर्द्धन गर्न जोड दिएका थिए। उनले हरित प्रविधिको कुरा गरेका थिए । 

पछिल्लो समय चीनको अर्थतन्त्रप्रति उपभोक्ता र लगानीकर्ताको विश्वास डगमगाएको छ। 

क्यापिटल इकोनोमिक्सका अनुसार सन् २०२२ मा चीनको कुल घरपरिवारको सम्पत्ति ४.३ प्रतिशतले घट्ने अनुमान गरिएको छ। यो दुई दशकमा पहिलो पटक भएको हो। 

विकासका लागि चीनले उपभोक्ता खर्च बढाउनु पर्नेछ तर त्यसका लागि सरकारले आफ्नो नीतिमा आमूल परिवर्तन गर्नुपर्नेछ ।
-एजेन्सीहरुको सहयोगमा