काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कोरोनाभाइरसको विषयलाई लिएर चीनको निन्दा गर्दै सबै सम्बन्ध तोड्ने धम्की दिएका छन्।

फक्स बिजनेससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूहरुले धेरै कुरा गर्न सक्ने भएकोले चीनसँगको सबै सम्बन्ध तोड्न पनि सक्ने बताएका हुन्। ‘यदि यस्तो भयो भने के होला ?’, प्रतिप्रश्न गर्दै उनले भनेका छन्, ‘अमेरिकाको ५०० अर्ब डलर बच्नेछ यदि चीनसँगको सारा सम्बन्ध टुट्नेछ।’

ट्रम्पको ईशारा चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकालाई ठूलो घाटा भइरहेको छ भन्नेतर्फ थियो। अमेरिकाले पछिल्लो केही समयदेखि चीनमाथि कोरोनाभाइरसलाई लिएर मुआब्जा दिनुपर्ने दबाब दिइरहेको छ। 

अमेरिकाले सुरुआतदेखि नै चीनमाथि कोरोनाभाइरससम्बन्धी महत्वपूर्ण सूचनाहरु लुकाएको र यो भाइरसबारेमा ढिला गरी सूचना दिएको आरोप पनि लगाउँदै आएको छ।

ट्रम्पको चीनविरुद्ध दिएका व्यक्तव्यहरु कतिपय विश्लेषकहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिका रुपमा पनि हेरिएका छन्। – एजेन्सी