काठमाण्डौ । केही दिनअघि अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा साउदी अरेबियाले चीनबाट तेल बिक्री गर्दा युआनमा भुक्तानी लिने विचार गरिरहेको समाचार छापिएको थियो। यो खबरसँगै ‘पेट्रोडलर’ युगको अन्त्यको सुरुआत हुन थालेको हो भनेर हल्ला पनि चल्न थाल्यो।
‘पेट्रोडलर’ शब्द सत्तरीको दशकमा प्रचलनमा आएको थियो। यससँगै विश्वको व्यापारमा अन्तर्राष्ट्रिय लेनदेनका लागि रुचाइएको मुद्राको रुपमा डलरको स्थिति बलियो हुँदै गयो।
ऊर्जा क्षेत्रसँग सम्बन्धित पत्रिका इनर्जी इन्टेलिजेन्सका वरिष्ठ सम्पादक रफिक लट्टाले चिनियाँ मुद्रा युआनका बारेमा साउदी स्रोतलाई उद्धृत गर्दै समाचार आएको बताए। साउदी अरेबियाले यसबारे आधिकारिक रुपमा केही बोलेको छैन। तर, यो जानकारी सार्वजनिक भएपछि यो बहस केही दिनसम्म चल्ने पक्का भएको छ।
उर्जाविज्ञ डा अनास अल्हाजी यस वर्ष विश्व तेलको व्यापार २.६ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको बताउँछन्। यो ठूलो रकम हुनेछ। यसको मतलब तेल किन्ने र बेच्ने जुन मुद्रामा हुन्छ, त्यसको तरलता राम्रो मात्रामा हुनुपर्छ। उनी भन्छन्, ‘डलर नै त्यो मुद्रा हो, जसका माध्यमबाट यो काम राम्रो तरिकाले नतिजा दिन सकिन्छ। यसका अन्य कारण पनि छन्।’
डलरमा सबैभन्दा बढी तरलता छ। यसको विनिमय दर अन्य मुद्राभन्दा बढी स्थिर छ र यो सम्पूर्ण विश्वमा लेनदेनका लागि सबैभन्दा स्वीकृत मुद्रा हो।
पेट्रोडलको सुरुआत
विश्वव्यापी तेल संकटको केही समयपछि सन् १९७४ मा साउदी अरेबियाको सरकारले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग एउटा सम्झौता गर्यो। जसअन्तर्गत साउदी अरबको तेल निर्यात डलरमा गर्ने निर्णय भयो। यस सम्झौताअन्तर्गत साउदी अरेबियाले आफ्नो पैसा अमेरिकी ट्रेजरी बन्डमा लगानी गर्यो।
साउदी अरब र अमेरिकाबीचको यो सम्झौताले दूरगामी प्रभाव पारेको छ। थुप्रै देश साउदी अरेबियालाई पछ्याउँदै अगाडि बढे र विश्वभर तेलको मूल्य डलरमा तोक्न थालियो। यही कारणले गर्दा विश्वभरका देशहरुले तेल र ट्रेजरी बन्डहरु किन्न, पश्चिमी देशहरुमा लगानी गर्न र अन्य विदेशी वस्तु र सेवा आयात गर्नका लागि तेल किन्न डलरमा विदेशी मुद्रा भण्डार राख्न थाले।
रफिक लट्टा भन्छन्, ‘आज हामीले महसुस गरेको विश्वव्यापी अर्थतन्त्र ल्याउन डलरको व्यापारले ठूलो भूमिका खेलेको छ।’
‘विश्वभरका देशहरुमा जसले आफ्नो विदेशी मुद्रा सञ्चिती राख्छ, जसमा ६० प्रतिशतभन्दा हिस्सा डलरमा हुन्छ’, उनी भन्छन्, ‘अमेरिकी शक्ति निर्माणमा पेट्रोडलर अर्थतन्त्रको ठूलो योगदान छ र यो अवस्थामा कुनै पनि परिवर्तन आर्थिक पक्षमा मात्र सीमित हुने छैन। यसले विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध र समीकरणमा प्रत्यक्ष प्रभाव पार्छ।
ढाँचागत बदलाव
सन् २०२० को तथ्यांकअनुसार चीनले हाल दैनिक १ करोड १० लाख ब्यारेल कच्चा तेल आयात गरिरहेको छ। जसमध्ये १७ लाख ब्यारेलभन्दा बढी तेल साउदी अरबबाट आयात हुने गरेको छ। यो चीनको तेल आयातको लगभग १७ प्रतिशत हो। जब कि साउदी अरबको कुल तेल निर्यातको २६ प्रतिशत हो।
चीनले पनि रुसबाट दैनिक १५ लाख ब्यारेल तेल आयात गर्छ। हाल चीन विश्वभर ऊर्जाको प्रमुख उपभोक्ता बनेको छ। यो वास्तविकताले विश्व तेल बजारको संरचना नै परिवर्तन गरेको छ। अहिले चीन तेल बजारमा ठूलो ग्राहक बन्न सकेको छैन। भारत, जापान र दक्षिण कोरियाजस्ता एसियाली देशहरु पनि कच्चा तेलका ठूला ग्राहकका रुपमा उभिएका छन्।
अमेरिकी ऊर्जा सूचना प्रशासनको २०२० को तथ्यांकअनुसार साउदी अरबको तेल निर्यातको ७७ प्रतिशत एसियाली बजारमा जान्छ र
१० प्रतिशतमात्रै युरोप जान्छ। अमेरिकामा दैनिक आधा मिलियन ब्यारेल तेलमात्र जान्छ। अमेरिका स्थानीय रुपमा निस्कने तेलमा निर्भर छ। यही वास्तविकतालाई ध्यानमा राख्दै साउदी अरेबिया, रुस र अन्य तेल निर्यातक मुलुकले अब चीन र अन्य एसियाली मुलुकसँग रणनीतिक सम्बन्ध बनाउन खोजिरहेका छन्।
यसमार्फत उनीहरु सुनिश्चित गर्न चाहन्छन् कि उनीहरुको तेल यी महत्वपूर्ण बजारहरुमा पुगिरहोस्। यही कारण तेल निर्यात गर्ने देश चीन, भारत, दक्षिण कोरिया र जापानमा रिफाइनरी बनाउन चाहन्छन्। यसबाट तेल खरिद गर्ने देशहरुले दीर्घकालीन खरिद सम्झौता पाउँछन्।
साउदी कम्पनी अरामकोले हालै चीनसँग पेट्रोल केमिकल कम्प्लेक्स र रिफाइनरी निर्माण गर्न साझेदारी सम्झौतामा हस्ताक्षर गरेको छ। यसबाट ऊर्जा क्षेत्रमा दुई देशबीच रणनीतिक सम्बन्ध निर्माण हुनसक्छ।
किन युआनमा सम्झौता ?
डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने बहस ५० वर्षभन्दा पुरानो भएको हो। पछिल्ला केही वर्षयता चिनियाँ मुद्रा युआनमा किन्ने बहस पनि चर्किएको छ। रफिक लट्टा भन्छन्, ‘वास्तवमा यो कुरा अहिले बाहिर आएको छ र यसले साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्धमा देखिएको तनावलाई देखाउँछ।’
विश्व तेल बजार केही समयदेखि ढाँचागत बदलाबको साक्षी बनेको छ। यसले युक्रेनमा रुसको आक्रमणले बदलिएको भूराजनीतिक वातावरणलाई पनि दर्शाउँछ।
साउदी अरेबियाबाट खरिद गरिएको तेल युआनमा तिर्ने हो भने यो व्यवस्था साउदी अरेबिया र चीन दुवैका लागि बीमा पोलिसीजस्तै हुने धेरै विज्ञहरुको ठहर छ। यससँगै भविष्यमा कुनै प्रतिबन्धका कारण डलरमा तेलको कारोबारमा प्रतिबन्ध लागेमा युआन सबैभन्दा राम्रो विकल्प सावित हुन सक्छ। – बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago