काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीहरुबाट हुने कारोबार रकम र समय सीमालाई आगामी बैशाख २२ गतेदेखि लागू हुने गरी परिमार्जन गरेको छ ।

सो दिनदेखि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीबाट राफसाफ हुने चेकको रकमको सीमा बृद्धि गरी ने.रु. २० करोडसम्म र विदेशी मुद्राको चेकको हकमा २० लाखसम्म पुर्याइएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

त्यस्तै, ठूला रकमको कारोबारमा रकमको सीमा बृद्धि गरी ३० करोडसम्म र विदेशी मुद्राको चेकको हकमा ३० लाखसम्म पुर्याइएको छ । साथै यस्तो कारोबारको समय सीमा हरेक दिन १०ः००– ११ः३० सम्म हुने व्यवस्था समेत मिलाइएको छ ।

साथै, हरेक शुक्रबार समेत दुईवटा एक्सप्र्रेस क्लियरिङ हुने व्यवस्था गरिएको छ, जसअनुसार शुक्रबार बिहान १०ः०० देखि ११ः०० र ११ः०० देखि १२ः०० बजेसम्म पेश गरिएको चेकहरु समेत सोही दिन फछ्र्यौट हुनेछन् । यद्यपि आन्तरिक व्यवस्थाअनुसार बैंकले तोकेको समय सीमा भने फरक हुनसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

सुविधा विस्तारको क्रममा अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत बैंक वित्तीय संस्थाहरुले एकआपसमा गर्ने अन्तरबैंक कारोबारहरुको रकम सीमा समेत बृद्धि गरी ने.रु. ५० करोड र विदेशी मुद्राको हकमा ५० लाखसम्म हुने व्यवस्था थप गरिएको बताइएको छ ।

यो व्यवस्थाले विद्युतीय माध्यमबाट गरिने चेक एवम् अन्तरबैंक कारोबारलाई सहयोग पुग्ने र बैंक एवं ग्राहकहरुलाई समेत थप सुविधा प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।

हाल नेपाल क्लियरिङ्ग हाउसले विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC)र अन्तरबैंक विद्युतीय भुक्तानी(NCHL-IPS)प्रणालीका सेवाहरु क्रमशः १०३ र ७८ सदस्यहरु मार्फत प्रदान गर्दै आएको छ ।