काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आगामी चैत ७ गतेदेखि आफ्ना सेयरधनीलाई १ बराबर १ अर्थात सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले मंगलबार एक सूचना प्रकाशित गरी हकप्रदका लागि सेयरधनीले चैत ७ गतेदेखि बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । यो लघुवित्त बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल २५ लाख ७९ हजार २ सय ३८ कित्ता हकप्रद निश्कासन गर्नेछ । हकप्रदको निश्कासन र व्यवस्थापनमा नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेड बिक्री प्रबन्धक रहेको छ । 

यसको हकप्रदका लागि बुक क्लोजको मिति फागुन २ लाई तोकिएको थियो । यसको अर्थ फागुन १ गतेभित्र डिप्रोक्सको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेका सतप्रतिशत हकप्रदमा आवेदन दिन योग्य मानिनेछन् । 

सूचनामा जनाइए अनुसार डिप्रोक्सका इच्छुक सेयरधनीले हकप्रदका लागि नवील इन्भेष्टमेन्ट बैकिंगको काठमाण्डौको नारायणचौरस्थित मुख्य कार्यालय र डिप्रोक्स लघुवित्तका सबै शाखा कार्यालयमा गएर आवेदन भर्न सक्नेछन् । 

डिप्रोक्सको सतप्रतिशत हकप्रद निश्कासन र व्यवस्थापनपछि चुक्तापूँजी ५१ करोड ५८ लाख रुपैयाँको उचाईमा पुुग्नेछ । हाल यो कम्पनीको चुक्तापूँजी २५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।