काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ४४.३१ प्रतिशतले घटेको छ।

संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ७ करोड ८ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १२ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि घटेर ११ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १९ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ३८ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ३९ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो।

संस्थाले समीक्षा अवधिमा २ अर्ब १८ करोड निक्षेप संकलन गरी ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार ४.०९ प्रतिशतले घटेर ४७ करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्ष ४५ करोड ५ लाख रुपैयाँको रहेको थियो। 

संस्थाको चुक्तापुँजी बढेर समीक्षा अवधिमा ४५ करोड ७२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष संस्थाको चुक्तापुँजी ३९ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.५० रुपैयाँ रहेको छ। संस्थाको पीई रेसियो ४९.११ गुणा र प्रतिसेयर नेटवर्थ १९८.५२ रुपैयाँ रहेको छ।