काठमाण्डौ । अन्य लघुवित्त संस्थासँग आपसमा गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ।

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले रेवतबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यहरुमा मानबहादुर विश्वकर्मा र नरेन्द्र कँडेल छन्।

रुपन्देहीको बुटवल केन्द्रीय कार्यालय रहेको यो संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई आपसमा गाभ्ने वा प्राप्त गर्ने नीतिअनुरुप यो समिति गठन गरेको हो। यो समितिले मर्जर प्रयोजनका लागि उपयुक्त लघुवित्तको पहिचान गर्ने, आवश्यक छलफल तथा गृहकार्य गर्ने जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।