काठमाण्डौ । विश्वभरका कयौं देशहरुले कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेका बेला बेलायतमा भने यसको तेस्रो लहर सुरु हुनसक्ने आशंका गरिएको छ । 

बेलायतको एडिबवर्ग युनिर्भसीटीमा संक्रमण रोग सम्बन्धी प्राध्यापक मार्क वुलहाउसले बेलायतमा कोरोना महामारीको तेस्रो लहर सुरु हुनसक्ने सम्भावना रहेको बताएका हुन् । 

उनले लकडाउन लगाउँदा मात्रै यो भाइरसबाट छुटकारा प्राप्त नहुने र उल्टो यसले अन्य समस्याहरु निम्त्याउन सक्ने बताएका छन् । अहिले बेलायतमा कोरोना महामारीको संक्रमणमा फेरि वृद्धि हुन थालेको छ । जसका कारण बेलायतमा लकडाउन लगाउनुपर्ने आवश्यकताको महसुस हुँदै गइरहेको छ । 

रोयटर्सका अनुसार बेलायतमा अहिलेसम्म ४ लाख ६५ हजार ३८७ जनालाई कोरोना पृष्टि भइसकेको छ भने ४१ हजार ९९८ जनाको यो भाइरसबाट मृत्यु भएको छ । 

यहि बढ्दो संक्रमणको दरलाई हेर्दै प्राध्यापक मार्कले बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने अनुमान लगाएका हुन् । उनले संक्रमणको तेस्रो लहरलाई रोक्नका लागि कडा कदमहरु उठाउन आवश्यक रहेको बताएका छन् । 

यसका साथै उनले यदि कोरोना विरुद्धको प्रभावकारी भ्याक्सिन ६ महिना, एक वर्ष वा दुई वर्षसम्म पनि आउने छाँटकाट नदेखिए, यससँग जुध्नका लागि दोस्रो उपायहरु बारे पनि सोच्नु पर्ने बताए । उनले यसका लागि धेरै भन्दा धेरै मानिसको परीक्षण गरी परीक्षणको दायरा फराकिलो पार्नु पर्ने बताए । 

बेलायतमा कोरोना महामारीको बढ्दो दरलाई मध्यनजर गर्दै गत मार्च महिनामा बेलायतका प्रधानमन्त्री जोनसन बोरिसले लकडाउन जारी गरेका थिए । उनको यो निर्णयले गर्दा उनले सांसदहरुको आलोचनाको सामना गर्नु परेको थियो ।