काठमाण्डौ । एकै व्यक्तिले एकैदिन ३६ अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, कार निर्माता टेस्ला कम्पनीका सीइओ एलन मस्कले यस्तै एउटा पृथक रेकर्ड सोमबार बनाएका छन् । 

ब्लुमबर्गको दैनिक अर्बपति परिसूचकअनुसार टेस्ला कम्पनीका मालिक मस्कको सम्पत्ति सोमबार एकैदिन ३६.२ अर्ब डलरले वृद्धि भएको हो । 
समाचारमा दाबी गरिएअनुसार हालसम्म विश्वका कुनै पनि अर्बपतिको सम्पत्ति एकैदिन यति धेरैले बढेको थिएन । 

पछिल्ला केही दिनहरुमा टेस्ला कम्पनीसँग सम्बन्धित सकारात्मक खबरहरुले कम्पनीको सेयरमूल्य बढिरहेको छ । तीव्र गतिमा कम्पनीको सेयरमूल्य बढेसँगै मस्कको सम्पत्तिमा पनि अनपेक्षित बढोत्तरी भइरहेको छ । 

सोमबार टेस्ला कम्पनीको कुल बजार पूँजीकरण नै बढेर १ टिलियन डलर माथि पुगेको छ । 

मस्कको कुल सम्पत्ति २८९ अर्ब डलर पुगेको पनि सिएनएन विजिनेशले जनाएको छ । ब्लुमबर्ग इण्डेक्सका अनुसार एलन मस्क हाल विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका छन् । दोश्रो धनी व्यक्तिको रुपमा जेफ बेजोसभन्दा मस्कको सम्पत्ति ९६ अर्ब डलरले बढी छ । पहिलो र दोश्रो धनीबीचको कुल सम्पत्तिको यो अन्तर पनि निकै उल्लेख्य बनेको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । 

एक अन्तराष्टिय कम्पनीले टेस्लाको १ लाख युनिट कार खरीद गर्ने सम्झौता गरेको खबर बाहिरिएसँगै सोमबार टेस्लाको सेयरमूल्य एकैदिन १२ प्रतिशतले बढेको समाचारमा उल्लेख गरिएको छ । यस्तै, एक प्रतिष्ठित सेयर विश्लेषकले टेस्ला कम्पनीको सेयरमूल्य बढेर प्रतिकित्ता १२०० डलरको उचाईमा पुग्ने बताएका थिए । उनको सो विश्लेषणले समेत सोमबार कम्पनीको मूल्य तीव्र गतिमा बढेको बताइएको छ ।