काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु् आर्थिक वर्षको भदौ महिना (दुई महिना)सम्म तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै १४ अर्ब २९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यसआधारमा जीवन बीमा कम्पनीहरुको ४९ प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ।
प्राधिकरणले सबै क्षेत्रमा बीमाको दायरा बढाउन जीवन बीमा कम्पनीहरुलाई प्रदेशगत रुपमा बीमा अन्तर्क्रिया तथा सचेतनासम्बन्धी कार्यक्रमहरु गर्न निर्देशन दिँदै आइरहेको छ। तर, बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशनबमोजिम यस्ता खालका कार्यक्रम गर्न सकेको छैन।
यसैको बाबजुद पनि जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा नै सीमित हुन पुगेको छ। त्यस्तै, लुम्बिनी प्रदेशबाट ३ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ र कोशी प्रदेशबाट ३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ।
यसका साथै गण्डकी प्रदेशबाट २ अर्ब ७८ करोड ६० लाख, मधेश प्रदेशबाट २ अर्ब ३७ करोड ८८ लाख, सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ९१ करोड ४१ लाख र कर्णाली प्रदेशबाट ७७ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ।
जीवन बीमा कम्पनीहरुले हाल ९ वटा बीमालेखमार्फत जीवन बीमा व्यवसाय गर्दै आइरहेका छन्। सबैभन्दा बढी सावधिक जीवन बीमालेखमार्फत १२ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमार्फत ६ अर्ब ४७ करोड ६७ लाख, बालबच्चासम्बन्धी सावधिक जीवन बीमामार्फत ४ अर्ब ८ करोड ७७ लाख, रुपान्तरित सावधिक जीवन बीमालेखमार्फत ३ अर्ब ६७ करोड २७ लाख, आजीवन जीवन बीमालेखमार्फत ७९ करोड २३ लाख, वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमार्फत ४४ करोड ८२ लाख, लघुबीमालेखमार्फत २७ करोड ६२ लाख, म्यादी जीवन बीमामार्फत २१ करोड ९६ लाख र एकल बीमाशुल्क जीवन बीमामार्फत १६ करोड २२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19