काठमाण्डौ । १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ । कुल बीमा शुल्क आर्जनमा अधिकांश कम्पनीको सुधार देखिएपनि नयाँ व्यवसाय भने तीन वटा कम्पनी बाहेक सबैको खस्किएको छ ।

जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय नवीकरण बीमा शुल्कमा मात्रै निर्भर छ । आइएमई लाइफ, नेपाल लाइफ र नेशनल लाइफ बाहेकका कम्पनीहरुले नयाँ व्यवसायमा सुधार गर्न सकेका छैनन् । जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म नविकरणमार्फत् मात्रै ३४ अर्ब ८ करोड रुपैयाँ प्रिमियम उठाएका छन् भने नयाँ व्यवसायमार्फत् ६ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बाँकी ११ ओटा जीवन बीमा कम्पनीले भने नयाँ व्यवसाय बढाउन सकेका छैनन् ।

मर्जरमा गएका कम्पनीहरुमा समेत नयाँ व्यसायको सिनर्जी देखिएको छैन । असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल बीमा व्यवसायको ८३ प्रतिशत प्रिमियम नवीकरणमार्फत् संकलन गरेका छन् भने बाँकी १७ प्रतिशत मात्रै नयाँ व्यवसायमार्फत् संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले विभिन्न तहमा पुगेर जीवन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु गरेपनि नयाँ व्यापार बृद्धि गर्न भने सकेका छैनन् ।

कायम रहेका बीमालेख संख्या बढाउन नसक्दा कम्पनीको नयाँ व्यवसायमा संकुचन छ भने नवीकरणले नै कम्पनीको व्यवसाय धानेको छ । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क आर्जन १८.८३ प्रतिशतले बढेको छ भने प्रथम बीमा शुल्क आर्जन ५.३० प्रतिशतले घटेको छ । 
असोज मसान्तसम्म नेपाल लाइफले मात्रै नवीकरणमार्फत् ९ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ नवीकरणमार्फत् प्रिमियम उठाएको छ । त्यस्तै, एलआईसी नेपालले पनि ४ अर्ब २८ लाख र राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ९३ करोड रुपैयाँ प्रिमियम उठाएको छ । 

उता हिमालयन लाइफले ३ अर्ब ८५ करोड, नेशनल लाइफले ३ अर्ब २८ करोड, सूर्यज्योति लाइफले १ अर्ब ७८ करोड, एशियन लाइफले १ अर्ब ५४ करोड, सानिमा रिलायन्सल लाइफले १ अर्ब १९ करोड प्रिमियम संकलन गरेका छन् ।

त्यसो त सिटिजन लाइफले १ अर्ब ८ करोड, मेट लाइफले १ अर्ब ६ करोड, प्रभु महालक्ष्मी लाइफले ९३ करोड, आइएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ६८ करोड र सन नेपाल लाइफले ५८ करोड रुपैयाँ नवीकरणमार्फत् प्रिमियम संकलन गरेका छन् ।