काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले हाल ९ वटा बीमालेख बिक्री गर्दै आइरहेको छ। नौ बीमालेख बिक्रीमार्फत जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ प्रिमियम उठाएका छन्।
जीवन बीमा कम्पनीको करिब आधा व्यवसाय भित्र्याउने सावधिक जीवन बीमालेखमार्फत मात्रै १७ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ। सामान्यतया सबैले गर्ने बीमा अर्थात् जीवन बीमा कम्पनीहरुमा सर्वाधिक बिक्री हुने बीमालेख ‘सावधिक जीवन बीमा’ भएकोले पनि यस बीमालेखबाट धेरै प्रिमियम संकलन भएको हो।
सावधिक जीवन बीमालेखबाट मात्रै जीवन बीमा कम्पनीको कुल व्यवसायको ४३ प्रतिशत प्रिमियम संकलन भएको तथ्यांकले देखाउँछ। जीवन बीमा कम्पनीहरुमा विभिन्न बीमालेख भए पनि अधिकांशले गर्ने बीमा यही भएकोले झन्डै आधा व्यवसाय यसै पोलिसीमा निर्भर रहेको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म जीवन बीमा कम्पनीहरुमा सावधिक जीवन बीमालेखको कुल सक्रिया संख्या २० लाख ८४ हजार ५५७ रहेको छ। जीवन बीमा कम्पनीहरुमा १ करोड ३८ लाख ६७ हजार ५८१ वटा बीमालेख संख्या सक्रिय रहँदा सावधिक जीवन बीमालेख खरिद गर्ने सक्रिय संख्या झन्डै २१ लाख रहेका छन्। यस हिसाबमा कुल बीमालेख संख्याका आधारमा सावधिक जीवन बीमालेख संख्याको हिस्सा १५ प्रतिशत रहेको छ।
त्यस्तै, दोस्रोमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमार्फत जीवन बीमा कम्पनीहरुले ९ अर्ब १२ करोड ९९ लाख रुपैयाँ प्रिमियम उठाएका छन्। यसका साथै बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखमार्फत ५ अर्ब ९५ करोड ३३ लाख, रुपान्तरित सावधिक जीवन बीमालेखमार्फत ५ अर्ब २० करोड ६० लाख, आजीवन जीवन बीमालेखमार्फत १ अर्ब १५ करोड ४३ लाख, वैदेशिक रोजगार बीमालेखमार्फत ६८ करोड ५७ लाख, लघु जीवन बीमालेखमार्फत ४८ करोड ६९ लाख, म्यादी जीवन बीमालेखमार्फत ३६ करोड ६ लाख र एकल बीमाशुल्क जीवन बीमालेखमार्फत २४ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
के छ सावधिक जीवन बीमालेखको फाइदा ?
जीवन बीमा कम्पनीहरुमा सर्वाधिक बिक्री हुने बीमालेख भनेको सावधिक जीवन बीमालेख हो। यो बीमालेखअन्तर्गत रहेर एउटा निश्चित अवधिको लागि बीमा गराइन्छ। यस बीमालेखमा आफूले बीमा गरेको बीमांक रकमबराबर बीमा अवधि सकिएपछि स्वयं बीमितले प्राप्त गर्दछ।
यसका साथै तोकिएको अवधिभर बीमितको मृत्यु भएमा पूरा बीमा रकम र त्यो अवधिसम्म समानुपातिक बोनससहित हकवालालाई भुक्तानी हुन्छ। अधिकांशले सावधिक जीवन बीमालेख नै खरिद गरेका हुन्छन्। जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमालेखहरु विभिन्न योजनाका नामहरु दिएर बिक्री गरिरहेका छन्। यदि बीमितले बीमा गरेपश्चात बीमा अवधिभर आफू जीवितै रहेको अवस्थामा बीमा अवधि परिपक्व भएमा स्वयं बीमितले नै बीमा रकम र बीमा अवधिभरको बोनस प्राप्त गर्दछ।
यसैगरी बीमितको बीमा अवधिमा मृत्यु भएमा हकवालालाई पूरा बीमा रकम र थप बोनस प्राप्त हुन जान्छ। यसकारण पनि जीवितै रहेको अवस्थामा स्वयं आफूलाई र मृत्यु भए पनि परिवारका लागि रकम सञ्चित हुने भएकोले अधिकांशले यो बीमालेख खरिद गरेका हुन्छन्। साथै, यस बीमालेख खरिद गर्दा आर्थिक जोखिम बहन हुने बीमा विज्ञहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19