काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

१४ वटा जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुको मुनाफा गत आर्थिक वर्षको तुलनामा ३२.८३ प्रतिशतले बृद्धि भएको छ ।गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

विवरणअनुसार सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीले पहिलो त्रैमाससम्म २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सले १६ करोड ६१ लाख, सन नेपाल लाइफले १६ करोड ५३ लाख, नेपाल लाइफले १५ करोड ७९ लाख, सूर्यज्योति लाइफले १३ करोड २१ लाख, आइएमई लाइफले १३ करोड ३ लाख, नेशनल लाइफले १३ करोड २ लाख नाफा कमाएको छ । 

यसैगरी, रिलायबल नेपाल लाइफले ११ करोड ९४ लाख, सानिमा रिलायन्सले ११ करोड ८ लाख, प्रभु महालक्ष्मीले १० करोड, मेट लाइफले ९ करोड २५ लाख, सिटिजन लाइफले ७ करोड १४ लाख, एलआईसी नेपालले ५ करोड ९७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । 

त्यस्तै गत आवकोे तुलनामा सबैभन्दा मुनाफा बढाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनी गत आवको तुलनामा १०४० प्रतिशत बढीले नाफा बढाउन सफल भएको छ । त्यस्तै, सूर्यज्योति लाइफले २६३ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १२८.३८ प्रतिशतले नाफा बढाउन सफल भएको छ । 

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई लङफर्म फाइनान्सियल रिर्पोटिङ सिस्टम (एलएफआरएस) पद्दती अन्तर्गत वित्तीय विवरण तयार पार्न दिर्नेशन दिएको थियो । यसअघि जीवन बीमा कम्पनीले एनएफआरएस पद्दतीअनुसार नै वित्तीय विवरण प्रकाशित गर्दै आएका थिए ।

एलएफआरएस पद्दतीअनुसार सबै जीवन बीमा कम्पनीले वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरणअनुसार सबै जीवन बीमा कम्पनीको मुनाफामा बृद्धि भएको देखिएको छ ।