काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा कर्मचारीको सुविधाका लागि १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ छुट्याएका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणका आधारमा १४ वटा जीवन बीमा कम्पनीले साढे अर्ब रुपैयाँ कर्मचारी लाभ खर्च शिर्षकमा छुट्याएका हुन् । बीमा कम्पनीहरुले वित्तीय विवरणमार्फत् यस्तो शिर्षमा छुट्याएको खर्च गत आर्थिक वर्षको तुलनामा १३.३५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म बीमा कम्पनीहरुले १ अर्ब ३७ करोड २९ लाख रुपैयाँ यस्तो शिर्षकमा छुट्याएका थिए । 

यसअघि जीवन बीमा कम्पनीहरुले त्रैमासिक वित्तीय विवरणमा कर्मचारी बोनस व्यवस्थामा रकम छुट्याएका हुन्थे ।

नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका लागि नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) १७ प्रणाली लागू गरेसँगै कम्पनीले सोही प्रणाीअनुरुप नै कर्मचारी लाभ खर्च शिर्षक राखेर रकम छुट्याएका छन् । 

कर्मचारी लाभ खर्च शिर्षकले कम्पनीले आफ्ना कर्मचारीहरुलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र–नगद पनि हुन सक्छ ।

जसमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कर्मचारीहरुलाई स्वास्थ्य बीमा लगायत अन्य लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा वापत समेत यस्ता शिर्षकमा रकम छुट्याएका हुन्छन् । 

कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् । यसका लागि पनि कम्पनीहरुले कर्मचारी लाभको लागि रकम छुट्याएका हुन्छन् । 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २१ करोड ४५ लाख रुपैयाँ कर्मचारीको फाइदाका लागि रकम छुट्याएको छ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी व्यवसाय गर्ने नेपाल लाइफमा कर्मचारीको संख्या पनि सबैभन्दा धेरै नै छ ।

यसर्थ कम्पनीको यस्तो शिर्षकको रकम बढी देखिन पुगेको छ । गत वर्षको तुलनामा कम्पनीको यस्तो रकम १.३५ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, हिमालयन लाइफले २० करोड २० लाख, सुर्यज्योति लाइफले १९ करोड १० लाख, नेशनल लाइफले १२ करोड ७८ लाख, सानिमा रिलायन्सले ११ करोड ९६ लाख, प्रभु महालक्ष्मीले १० करोड ४२ लाख, एलआइसी नेपालले ९ करोड ४० लाख, मेट लाइफले ९ करोड ७ लाख, एसियन लाइफले ९ करोड २ लाख, सिटिजन लाइफले ८ करोड ९१ लाख कर्मचारी लाभ शिर्षकमा छुट्याएका छन् । 

यसैगरी, सन नेपाल लाइफले ८ करोड ७१ लाख, आइएमई लाइफले ७ करोड १५ लाख, रिलायबल नेपाल लाइफले ७ करोड १ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३३ लाख रुपैयाँ कर्मचारी लाभ शिर्षकमा छुट्याएका छन् । 
क–कसले बनाए कर्मचारी मख्ख ? 
गत वर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले कर्मचारी सुविधामा खर्चिने रकम बढाएको छ । कम्पनीको यस्तो खर्च १ हजार ४३ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, दोस्रोमा सानिमा रिलायन्स लाइफले पनि आफ्ना कर्मचारीलाई मख्ख बनाएको छ । दुई कम्पनी मर्ज भई बनेको सानिमा रिलायन्सले मर्ज भएतापनि कर्मचारी अवकास योजना ल्याएको थिएन । सबै कर्मचारीलाई रोजगार दिइकन कम्पनीले अझै कर्मचारीको सेवा सुविधाका लागि खर्चिने रकम समेत बढाएको छ ।

गत वर्षमा ५ करोड १७ लाख रुपैयाँ कर्मचारीको लागि खर्चेको सानिमा रिलायन्सले यस वर्ष १३१ प्रतिशतले बढाएर ११ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । 
त्यस्तै, अर्को सूर्य
ज्योति लाइफले पनि आफ्ना कर्मचारीलाई टिकाइ राख्न यस अवधिसम्म १९ करोड १० लाख रुपैयाँ कर्मचारी लाभ खर्च शिर्षकमा रकम छुट्याएको छ । यो रकम गत वर्षको तुलनामा ७०.९५ प्रतिशतले बढी हो ।

गत वर्षको यस अवधिसम्म कम्पनीले ११ करोड १७ लाख रुपैयाँ रकम छुट्याएको थियो । यसका साथै प्रभु महालक्ष्मीले पनि ४९.१६ प्रतिशत, सिटिजन लाइफले २८.२९ प्रतिशत, नेशनल लाइफले २२.५४ प्रतिशत, सन नेपालले १८.२९ प्रतिशत, रिलायबल नेपालले १०.५१ प्रतिशत, मेट लाइफले १०.४३ प्रतिशत र आइएमई लाइफले ९.२१ प्रतिशतले यस्तो खर्च रकम बढाएको छ । 
४ कम्पनीले कर्मचारी सुविधामा खर्चिने रकम घटाए 
गत आवको तुलनामा यस्तो शिर्षकको रकम चार कम्पनीको घटेको छ । आफुलाई ठूलो कम्पनीको दर्जा दिने गरेको नेपाल लाइफको कर्मचारी लाभ खर्च १.३५ प्रतिशतले घटेको छ ।

यस्तो खर्च घट्दा कम्पनीले नाफामा सुधार गरेतापनि कर्मचारीको सुविधा भने कटौती गर्दै गएको बुझ्न सकिन्छ । त्यस्तै, सर्वाधिक हिमालयन लाइफ इन्स्योरेन्सको १९.६१ प्रतिशतले घटेको छ ।

हिमालयन लाइफले मर्जरको क्रममा कर्मचारी अवकास योजना ल्याए पनि छाँटिएर बसेका कर्मचारीको सुविधाका लागि समेत खर्च रकम बढाउन सकेको छैन । 

त्यस्तै, एलआईसी नेपालको १५.४२ प्रतिशत र एशियन लाइफको पनि ९.९२ प्रतिशतले घटेको छ । 

स्रोत : कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरण