काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले झण्डै आधा खर्ब प्रिमियम कलेक्सन गरेका हुन् कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क गत वर्षको तुलनामा ७.४४ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

कात्तिक मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा एलआईसी नेपालले ५ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरी दोस्रो स्थान कायम गरेको छ । 

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ३६ करोड, नेशनल लाइफले ५ अबै २९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब २३ करोड प्रिमियम कलेक्सन गरेको छ । 
यसैगरी, सूर्यज्योति लाइफले २ अर्ब ७६ करोड, एशियन लाइफले २ अर्ब ३६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८९ करोड, सिटिजन लाइफले १ अर्ब ७८ करोड, मेट लाइफले १ अर्ब ७१ करोड, प्रभु महालक्ष्मीले १ अर्ब ३७ करोड, आइएमई लाइफले १ अर्ब ३० करोड, रिलायबल नेपाल लाइफले १ अर्ब २१ करोड र सन नेपाल लाइफले १ अर्ब १२ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । 
९ कम्पनीको व्यवसाय बढ्दा ५ को खस्कियो 
कात्तिक मसान्तसम्ममा ९ कम्पनीको व्यवसाय बढेको छ, भने बाँकी ५ कम्पनीको व्यवसाय खस्किएको छ । गत वर्षको तुलनामा यस अवधिसम्म सबैभन्दा व्यवसाय बृद्धि गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । 

कम्पनीले गत वर्षको तुलनामा १८५.५८ प्रतिशतले व्यवसाय बढाएका छन् । त्यस्तै, दोस्रोमा प्रभु महालक्ष्मी लाइफले पनि १४.४३ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ ।

गत वर्ष १ अर्ब २० करोड मात्रै बीमा शुल्क आर्जन गरेको प्रभु महालक्ष्मीले यस वर्षको कात्तिक महिनासम्म १ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, आइएमई लाइफले पनि व्यवसायमा उल्लेख्य सुधार गर्दै गइरहेको छ । कम्पनीले गत वर्षको कात्तिक महिनासम्म १ अर्ब १५ करोड रुपैयाँ संकलन गरेकोमा यस वर्ष १३.२४ प्रतिशतले व्यवसाय बढाएर १ अर्ब ३० करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । 

त्यस्तै, हिमालयन लाइफको ७.७० प्रतिशत, रिलायबल नेपाल लाइफको ६.०३ प्रतिशत, नेपाल लाइफको ४.०५ प्रतिशत, एसियन लाइफको ३.७८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.३२ प्रतिशत र मेट लाइफको १.९९ प्रतिशतले व्यवसाय बढेको छ । 

त्यस्तै, गत वर्षको तुलनामा यस वर्ष ५ जीवन बीमा कम्पनीको व्यवसाय खस्किएको छ । सबैभन्दा बढी सन नेपाल लाइफको १६.३३ प्रतिशतले बीमा शुल्क आर्जन घटेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफको ५ प्रतिशत, नेशनल लाइफको ३.५८ प्रतिशत, एलआईसी नेपालको ३.४८ प्रतिशत र सिटिजन लाइफको २.३७ प्रतिशतले व्यवसाय खस्किएको छ ।