काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । 

नेप्से सूचक ३.३३ अंकले बढेर १ हजार ८४१ विन्दुमा पुगेको छ । यो दिन २९३ वटा कम्पनीको ३७ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १४ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ उपसूचक राताम्य भएका छन् भने बाँकी सूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा इन्डेक्स १.२१ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स ०.७९ प्रतिशतले बृद्धि भएको छ । 

जीवन बीमा उपसूचक सर्वाधिक बृद्धि हुँदा आज बीमा कम्पनीहरुमा सर्वाधिक कमाउने तथा सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.२४ प्रतिशतले बृद्धि भई ५०४ रुपैयाँ पुगेको छ । 

त्यस्तै, सिटिजन लाइफको ४.५६ प्रतिशतले बढेर ४८२ रुपैयाँ, युनाइटेड अजोडको ३.८९ प्रतिशतले बढेर ५६१ रुपैयाँ सेयरभाउ पुगेको छ । यसका साथै एनएलजीको २.९० प्रतिशत, सानिमा रिलायन्स लाइफको २.८८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.८७ प्रतिशत, सानिमा जीआईसीको १.७४ प्रतिशत, हिमालयन लाइफको १.६९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.६३ प्रतिशतले सेयरभाउ बढेको छ ।

त्यस्तै आइएमई लाइफको १.५९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२८ प्रतिशत, एसियन लाइफको १.१३ प्रतिशत, शिखरको ०.६८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत र एलआईसी नेपालको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 

बीमा उपसूचकहरु बढेपनि आज केही बीमा कम्पनीको सेयरभाउ घटेको छ । सबैभन्दा बढी गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.६५ प्रतिशतले घटेर ६८३ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, नेपाल लाइफको ०.४६ प्रतिशत, हिमालयन एभरेष्टको ०.३९ प्रतिशत, नेशनल लाइफको ०.३६ प्रतिशत र सलिकोको ०.०३ प्रतिशतले सेयरभाउ घटेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा प्रिमियममा आइपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी परेका छन् ।

सर्वाधिक रिलायबल नेपाल लाइफको ७ करोड ३४ लाख, सन नेपाल लाइफको ७ करोड ३० लाख, सिटिजन लाइफको ५ करोड ७९ लाख र आइएमई लाइफको ५ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।