काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुको मंसिर मसान्तसम्ममा नयाँ व्यवसायमा गिरावट आएको छ । 
 

नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा चालू आव २०८०/ ०८१ को पाँच महिनामा औसतमा २.६४ प्रतिशतले घटेको छ । 
 

गत वर्ष नयाँ व्यवसायमार्फत् जीवन बीमा कम्पनीले ११ अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालू आवको यो अवधिसम्ममा १० अर्ब ९७ करोड रुपैयाँमात्रै प्रिमियम संकलन गरेका छन् ।
 

१४ मध्ये चार वटा कम्पनी नयाँ व्यवसाय बढाउन सफल भएका छन् भने बाँकी १० कम्पनीको प्रथम बीमा शुल्क आर्जन नै घटेको प्राधिकरणका एक अधिकारीले बिजशाला डटकमलाई बताए । 
 

जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट व्यवसाय गर्ने नेशनल लाइफले नयाँ व्यवसाय सर्वाधिक बढाएको छ । कम्पनीले २१.४४ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बृद्धि गरेको छ । 
 

यसका साथै नेपाल लाइफले पनि २०.७२ प्रतिशतले नयाँ व्यसाय बढाएको छ । त्यस्तै, आइएमई लाइफ र एशियन लाइफको नयाँ व्यवसायमा पनि सुधार देखिएको छ ।

आइएमईको प्रथम बीमा शुल्कआर्जन १७.३४ प्रतिशत र एशियन लाइफको ३.३५ प्रतिशतले बद्धि भएको छ । 
 

त्यस्तै, गत आवको तुलनामा सबैभन्दा नयाँ व्यवसाय घट्ने कम्पनीमा सन नेपाल लाइफ छ । उक्त कम्पनीको प्रथम बीमाशुल्क आर्जन ३६.१९ प्रतिशतले घटेको छ । 
 

त्यस्तै, मर्जरमा गएका कम्पनीहरुको पनि नयाँ व्यवसाय बृद्धि हुन नसकेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। मर्ज भएका कम्पनीहरुमा सूर्यज्योति लाइफको प्रथम बीमा शुल्कआर्जन सर्वाधिक २७.७३ प्रतिशतले घटेको छ । 
 

त्यस्तै, प्रभुमहालक्ष्मी लाइफको १९. २५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १३.६५ प्रतिशत र हिमालयन लाइफको १०.६१ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ । 

स्रोत: नेपाल बीमा प्राधिकरण