काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म कुल ४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। 

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले करिब साढे ४ अर्ब रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म जीवन बीमा कम्पनीको खुद नाफा ३ अर्ब १ करोड रुपैयाँ माथि थियो। १४ जीवन बीमा कम्पनीमध्ये ९ वटाको नाफामा सुधार देखिएको छ भने बाँकी ५ वटाको मुनाफामा संकुचन देखिएको छ। 

गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको नेपाल लाइफले यस अवधिसम्म ६७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो। 

त्यस्तै, दोस्रोमा बढी नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ। कम्पनीले यो अवधिसम्म ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। 

यसका साथै सन नेपालले ५६ करोड ६५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४३ करोड २२ लाख रुपैयाँ, नेसनल लाइफले ३६ करोड ४५ लाख रुपैयाँ, मेट लाइफले ३५ करोड ९९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ४० लाख रुपैयाँ, आइएमई लाइफले २४ करोड ८ लाख रुपैयाँ, एशियन लाइफले २४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले १२ करोड ४६ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले १० करोड ५० लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ७ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। 

वृद्धिदरमा को अघि ? 

जीवन बीमा कम्पनीहरुमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा नाफा बढाउने कम्पनीमा सन नेपाल लाइफ रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म २१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको सन नेपाल लाइफले गत आर्थिक वर्षको अन्त्यसम्म ५६ करोड ६५ लाख रुपैयाँ माथि नाफा आर्जन गरेको छ। 

यसका साथै धेरै मुनाफा आर्जन गर्ने कम्पनीहरुको टप ३ लिस्टमा सन नेपाल लाइफ रहेको छ। कम्पनीले १६३.९९ प्रतिशतले मुनाफा बढाएको हो। यसका साथै मुनाफा वृद्धिदरको दोस्रो नम्बरमा आइएमई लाइफ रहेको छ। कम्पनीले पनि ८७.१८ प्रतिशतले मुनाफा वृद्धि गरेको छ। 

यसका साथै सिटिजन लाइफले ६५.८८ प्रतिशत, रिलायबल नेपाल लाइफले ५७.२८ प्रतिशत, प्रभु महालक्ष्मीले ४४.६७ प्रतिशत, हिमालयन लाइफले ४२.५१ प्रतिशत र सानिमा रिलायन्सले ३७.८८ प्रतिशतले मुनाफा वृद्धि गरेको छ। 

यसका साथै अघिल्लो आर्थिक वर्षमा नोक्सान व्यहोरेका नेपाल लाइफ र एलआइसी नेपालले पनि गत आर्थिक वर्षको अन्त्यसम्म मुनाफा बढाएका छन्।

त्यस्तै राष्ट्रिय बीमा संस्थान, एसियन लाइफ, सूर्यज्योति लाइफ, मेट लाइफ र नेसनल लाइफको मुनाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।