काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख धितो राखी कर्जा लिने व्यवस्था रहेको छ। बीमितले आफ्नो बीमालेख धितो राखेर सीमित कर्जा लिन पाउने कम्पनी व्यवस्थामा रहेको छ।
गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा ८४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। जीवन बीमा कम्पनीहरुमा बीमालेख धितो कर्जाको माग बढ्दै गएको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरु यस्तो कर्जा ६६ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो। यस आधारमा पनि जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा २७ प्रतिशतले बढेको देखिएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर बढेका कारण पनि बीमितहरुले बैंकभन्दा पनि बीमा कम्पनीबाटै आफ्नो बीमालेख धितो राखी कर्जा लिने गरेको पाइएको छ। जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखेर सम्बन्धित कम्पनीबाट सहुलियतमा कर्जा लिन सक्ने व्यवस्था रहेको छ।
जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा ‘बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमा शुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् तथा एकल बीमा शुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा धितो राखी ऋण प्रदान गर्न सक्नेछ’ भनी उल्लेख छ।
यसर्थ निर्देशिकाबमोजिम बीमितले बीमा जारी भएको ३ वर्षको बीमाशुल्क भुक्तानी गरेपश्चात् आफ्नो बीमालेख धितो राखेर कर्जा लिन पाउनेछन्। बीमालेखबाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमालेख धितो राखेर कर्जा लिने प्रक्रिया झन्झटमुक्त मानिन्छ।
निर्देशिका बमोजिम बीमितले ३ किस्ता प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउनेछन्।
जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जाको ब्याजदर १० प्रतिशतसम्म लिने गरेका छन्। यसअघि कम्पनीहरुले १२ प्रतिशतसम्म यस्तो कर्जाको ब्याज असुल्ने गरेका थिए।
बैंकहरुको ब्याजदर चर्किंदै गए पनि बीमा कम्पनीहरुले भने आफ्ना बीमितलाई थप सुविधा दिने उद्देश्यले बीमालेख धितो कर्जाको ब्याजदर घटाएका छन्।
कुन कम्पनीबाट कति कर्जा प्रवाह
गत आर्थिक वर्षमा नेपाल लाइफबाट सर्वाधिक ३० अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
त्यस्तै एलआईसी नेपालबाट २१ अर्ब ७१ करोड रुपैयाँ, नेसनल लाइफबाट १० अर्ब ४५ करोड रुपैयाँ, हिमालयन लाइफबाट ५ अर्ब ७१ करोड रुपैयाँ, एसियन लाइफबाट ४ अर्ब ७० करोड रुपैयाँ र सूर्यज्योति लाइफबाट ३ अर्ब ६७ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका छन्।
यसैगरी राष्ट्रिय बीमा संस्थानबाट २ अर्ब ८५ करोड रुपैयाँ, मेटलाइफबाट १ अर्ब ५५ करोड रुपैयाँ, सानिमा रिलायन्सबाट १ अर्ब ४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफबाट ५७ करोड १७ लाख रुपैयाँ, आइएमई लाइफबाट ५० करोड ७१ लाख रुपैयाँ, सिटिजन लाइफबाट ४६ करोड ८१ लाख रुपैयाँ, सन नेपाल लाइफबाट ४६ करोड ६८ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफबाट ३० करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।
सबै कम्पनीले बीमितलाई थप सेवा सुविधा दिन कर्जाको दायरासमेत बढाएका छन्। बीमितहरुले बीमालेख धितोमा एकैदिनमा कर्जा पाउँछन् भने ब्याज भने प्रत्येक ३–३ महिनामा भुक्तानी गर्नुपर्दछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19