काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा गर्ने लगानीको सीमा बढाएको छ ।

प्राधिकरणले जीवन बीमकको लगानी निर्देशन २०७९ लाई दोस्रो संशोधन गर्दै अन्य कम्पनीमा गर्ने लगानीको सीमा बढाएको हो । 
 प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसअघि यो सीमा ५ प्रतिशत थियो । 

यस्तै जीवन र निर्जीवन बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड(पीईभीसी) मा समेत लगानी पाउने भएका छन् ।प्राधिकरणले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड मा जीवन र निर्जीवन बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत निर्धारण गरिएको छ । यस्तो लगानी एकै फण्डमा बढीमा १ प्रतिशतसम्म गर्न सकिने प्राधिकरणले जनाएको छ । 

यस्तै बीमा प्राधिकरणले जीवन र निर्जीवन लघुबीमा कम्पनीले अन्य कम्पनीको सेयरमा गर्ने लगानीको सीमा पनि १५ प्रतिशत नै कायम गरेको छ ।   तर लघु बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी भने गर्न पाउने छैनन् ।