कठमाण्डौ । अमेजनका सीईओ जेफ बेजोस २०० बिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो व्यक्ति भएका छन्।

ब्लुमबर्ग बिलिनिर्यस इन्डेक्स अनुसार बेजोसको कुल सम्पत्ति बढेर २०२ बिलियन डलर पुगेको छ। यतिबेला बेजोफको सम्पत्ति अर्का धनाढ्य माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको भन्दा ७८ बिलियन डलर धेरै भएको छ। 

विगत केही वर्षदेखि अमेजनको सेयर र बेजोसको व्यक्ति गत सम्पत्तिमा व्यापक उछाल आएको छ। यसअघि बेजोस सन् २०१७ मा पहिलोपटक विश्वको धनाढ्यको सूचीमा पहिलो स्थानमा पुगेका थिए। त्यसपछि उनी सन् २०१८ मा पनि १५० बिलियन डलरको साथ पहिलो स्थानमै थिए। 

यो वर्षको अप्रिल महिनामा अमेजनको सेयर मूल्य रेकर्डतोड उचाइमा पुग्यो। अमेजनका सामग्रीको मागमा व्यापक वृद्धि आएपछि कम्पनीको बजारमूल्यमा खर्बौं डलरको बढोत्तरी भएको छ। 

यस्तै यो वर्ष कम्पनीका लगानीकर्ताले ८६ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्। कम्पनीको मूल्य १.७ ट्रिलियन डलर पुगेको छ। कम्पनीको मूल्य देखिएको यो वृद्धिसँगै कम्पनी विश्वकै सबैभन्दा धेरै मूल्यवान कम्पनीको सूचीमा दोस्रो स्थानमा पुगेको छ। पहिलो स्थानमा भने एप्पल कम्पनी छ। 

कोरोना महामारीका कारण अमेजनको व्यापारमा आएको उछालले कम्पनीको वृद्धिमा धेरै नै सहयोग पुर्याएको छ। अनलाइन व्यापारमा देखिएको उछालले कम्पनीका साथै बेजोसको सम्पत्तिमा पनि बढोत्तरी भएको हो। 

बेजोसले गत वर्ष आफ्नी पत्नीसँग पारपाचुके नगरेको भए २०० बिलियनको आँकडा गत वर्ष नै पार गरिसक्ने थिए। पारपाचुके पनि बेजोसले आफ्नी पत्नीलाई सम्पत्ति दिएका थिए। 

बेजोसकी पूर्वपत्नी म्याकेन्जे स्कट अहिले विश्वको धनाढ्यको सूचीमा १३ औँ स्थानमा छिन््। उनको व्यक्तिगत सम्पत्ति ६६ बिलियन डलर छ। – एजेन्सी