काठमाण्डौ । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनका संस्थापक एवं सीईओ जेफ बेजोसले आफू पहिलोपटक अन्तरिक्ष यात्रामा जान लागेको जानकारी गराएका छन्। 

सोसल मिडियामार्फत बेजोसले यस्तो जानकारी गराएका हुने। उनी आफ्नो स्पेस कम्पनी ब्लु ओरिजिनको पहिलो स्पेस फ्लाइटबाट अन्तरिक्षको यात्रामा जानेछन्। यो पहिलो स्पेस फ्लाइट आउँदो जुलाई २० मा हुने सम्भावना रहेको छ। 

बेजोस आफ्ना भाइ मार्कका साथ अन्तरिक्ष यात्रामा जानेछन्। ‘म जब ५ वर्षको थिएँ, त्यतिखेरदेखि नै मैले अन्तरिक्ष यात्रा गर्ने सपना देखेको थिएँ’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जुलाइ २० मा भाइका साथ अन्तरिक्ष यात्रा गर्नेछु। उनी मेरो सबैभन्दा प्रिय मित्र पनि हुन्, यात्रा अवश्य रोमाञ्चक हुनेछ।’

ब्लु ओरिजिन केही हाई प्रोफाइल स्पेस टुरिजम कम्पनीमध्ये एउटा हो। यसको संस्थापकमा थुप्रै धनी व्यक्ति सामेल छन्। 

ब्लु ओरिजिनले आफ्नो पहिलो स्पेस फ्लाइटको एउटा सिटको बिक्री लिलामीमा गर्नेछ। यसको लिलामीका माध्यमबाट जति पनि धनराशि प्राप्त हुनेछ, त्यो ब्लु ओरिजिनको फाउन्डेसनलाई दिइनेछ। 

पहिलो स्पेस फ्लाइटको यात्रा कुल ११ मिनेटको हुनेछ। यसले १०० किलोमिटर (६२ माइल) को उचाइसम्म सफर गर्नेछ। 
यो यात्रामा जाने यात्रुलाई ४ दिनको स्पेस यात्राको अनुभव प्राप्त हुनेछ। जसमा ३ दिन प्रिफ्लाइट ट्रेनिङ हुनेछ। ट्रेनिङ कम्पनीको लन्च साइट ट्याक्सको वेन हर्नमा दिइनेछ। यो ट्रेनिङ अवधिमा खानपानसहित सबै प्रकारका सुविधा ब्लु ओरिजिनका तर्फबाट उपलब्ध गराइनेछ।

त्यसो त जेफ बेजोसले आउँदो जुलाई ५ बाट अमेजनको सीईओ पद छाड्नेछन्। यो कम्पनीको स्थापना २७ वर्षअघि भएको थियो। – एजेन्सी