काठमाण्डौ । बेबी पाउडर जोन्सन एन्ड जोन्सनलाई ठूलो झट्का लागेको छ। 

अमेरिकामा एक महिलाले यो पाउडर प्रयोग गर्दा आफू घातक क्यान्सरको सिकार भएको दाबी गरेकी छिन्। अदालतले यस विषयमा सुनुवाइ गर्दै कम्पनीलाई ठूलो जरिवाना तिर्न आदेश दिएको छ। 

अब कम्पनीले ती महिलालाई १८.८ मिलियन डलर (करिब साढे २ अर्ब रुपैयाँ) तिर्नुपर्नेछ।

क्यालिफोर्नियानिवासी इमोरी हर्नान्डेज भालाडेजले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा क्यान्सर भएको कुरा अदालतसमक्ष प्रमाणित गरेकी थिइन्। हर्नान्डेजले ओकल्यान्डको क्यालिफोर्निया राज्य अदालतमा गत वर्ष क्षतिपूर्तिका लागि जोन्स एन्ड जोन्स कम्पनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। २४ वर्षीया हर्नान्डेजले बाल्यकालदेखि नै कम्पनीको ट्याल्कम पाउडरको अत्यधिक प्रयोगका कारण आफ्नो मुटुवरिपरिको तन्तुमा मेसोथेलियोमा नामक घातक क्यान्सर भएको बताइन्।

अदालतले पनि हर्नान्डेज आफ्नो मेडिकल बिल र पीडाका लागि क्षतिपूर्ति पाउन हकदार रहेको फैसला गरेको छ। तर, कम्पनीविरुद्ध दण्डात्मक क्षतिपूर्ति दिन पनि अदालतले अस्वीकार गरेको छ। 

जोन्स एन्ड जोन्सका उपाध्यक्ष एरिक हासले कम्पनीले अदालतको निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्। ‘कम्पनीलाई विश्वास छ कि जोन्सनको बेबी पाउडर सुरक्षित छ, यसमा एस्बेस्टोस छैन र क्यान्सर हुँदैन’, एरिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। –एजेन्सी