काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहीमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गरेको छ । 

३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन  गरे । 

त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरे । यसैगरी, ३२ औं शाखा दाङ्गको घोराहीमा  नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र यस बैंकका संचालक नारायण् प्रसाद पौडेलले संयुक्त रुपमा गरे ।

शाखा उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका निर्देशकहरु क्रमश ः श्री गोकर्ण खतिवडा, जगदिश्वरप्रसाद अधिकारी र नारायणप्रसाद पौडेलले गरे भने झुम्का शाखाको उदघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुंवर तथा संचालक छत्रमान श्रेष्ठको पनि उपस्थिति थियो । 

हाललाई यी तीन शाखासहित ३२ शाखा, एउटा एक्सटेन्शन काउन्टर तथा १२ वटा एटीएममार्फत बैंकले आफ्नो सेवा प्रदान गर्नेछ भने छिट्टै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य लिएको छ । 

ज्योति विकास बैंकको हालको चुक्तापुँजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको छ भने १ः१ को हकप्रद शेयर जारी गरेको छ ।

यसअघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी २०७३ साउन २८ गतेदेखि एकीकृत कारोबार संचालन गरिसकेको छ ।  त्यस्तै राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ । यसरी राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्तापुंजी रु २ अर्ब ५० करोड सहजै पुर्याउने यो बैंकको लक्ष्य छ । 

पछिल्लो समयमा व्यवसायको बृद्धि तथा मुनाफामा उल्लेखनीय प्रगति गरिरहेको यो विकास बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म् निक्षेप रु ९ अर्ब ३५ करोड संकलन तथा कर्जा रु ८ अर्ब ३८ करोड प्रवाह गरी खुद मुनाफा रु १९ करोड २७ लाख आर्जन गरेको छ । बैंकले निस्क्रिय कर्जाको अनुपात १ प्रतिशत भन्दा तल झारिसकेको छ ।