काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेले आगामी साउन १६ गतेदेखि बिक्री नभएको संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

२०७४ बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म् बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण आवेदन नपरेको भन्दै बैंक संचालक समितिको निर्णयअनुसार इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले एक सूचनामार्फत जनाएको छ । 

यो बैंकले ७ लाख ७० हजार ४७.६० कित्ता संस्थापक सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । इच्छुकले तोकिएको स्थानमा साउन १६ देखि २३ गतेसम्म शिबलन्दी बोलपत्र पेश गर्न सक्ने बताइएको छ । 

इच्छुुकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्साल, नारायणचौरस्थित मुख्य कार्यालयमा आइपुुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलकबोल प्रक्रियामा सहभागी हुन चाहनेले बोलपत्रमा प्रति कित्ता सेयरको मूल्य न्यूनतम १ सय रुपैयाँ र एक आवेदकले न्यूनतम १०० कित्ताका लागि बोल लगाउनैपर्ने शर्त तोकिएको छ । 

साउन २५ गते बिहान बोलपत्र खोलिने सूचनामा स्पष्ट पारिएको छ । यो बैंकको पछिल्लो सेयर बिक्री मूल्य प्रति कित्ता २१३ रुपैयाँ रहेको छ ।