काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १७ करोड ४ लाख रुपैयाँ खूद नाफा कमाएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो बैंकले १४ करोड २५ लाख नाफा कमाएको थियो । 

बैंकले अघिल्लो वर्ष २१ करोड ९४ लाखमा सीमित संचालन मुनाफालाई बढाएर यो वर्ष २६ करोड ७६ लाखको विन्दू चुमाएको छ ।

खूद ब्याज आम्दानीतर्फ ३६.६२ प्रतिशतको प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष ३४ करोड १५ लाख रहेको यस्तो आम्दानी यो वर्ष बढेर ४६ करोड ६६ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले २३ अर्ब ५८ करोड निक्षेप संकलन गरी २० अर्ब ३३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १२ अर्ब ४३ करोड कर्जा परिचालन गरेको थियो। 

बैंकले ३४ करोड ४० लाखमा सीमित रिजर्बकोषको आकार बढाई ४५ करोड ७४ लाखको उचाई चुमाएको छ भने १.४२ प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर ०.५९ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ । 

अघिल्लो वर्ष यही अवधिमा ८.४९ प्रतिशत रहेको कस्ट अफ फण्ड  यो वर्ष ८.४८ प्रतिशतमा सीमित राख्न सकेको बैंकले ७८.७७ प्रतिशतको सीडी रेसियो कायम गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको सीडी रेसियो यो वर्ष निकै टाइट देखिएको हो । 

समीक्षा अवधिमा बैंकको बेस रेट ११.६३ प्रतिशत छ भने इक्वीटीमा प्रतिफल ११.१७ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष १०.९९ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढाएर १३ रुपैयाँ १४ पैसा बनाएको बैंकको प्रतिसेयर नेटवर्थ ११७.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.५० गुणा र तरलता अनुपात २४.८२ प्रतिशत कायम गरेको छ ।