काठमाण्डौ । ज्योति विकास बैंकले कर्मचारीको क्षमता जाँच र अभिवृद्धिका लागि प्रत्येक तीन महिनामा अनलाइन परीक्षा लिने भएको छ । 

बैंकले आफ्ना कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले नेपालको बैंकिङ उद्योगमै नयाँ अवधारणा ल्याएको हो । 

यो विषयमा बैंकले सोमबार नेपाल बैंकिङ इन्स्टिच्यूटसँग एक सम्झौता पनि गरिसकेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार पछिल्लो समय बैंक तथा बित्तीय संस्थाहरुको शाखा बिस्तारको लहर चलेको र यो क्रममा भर्ना भएका अधिकांश कर्मचारीमा बैंकिङ ज्ञानको अभाव भएकोले यो समस्यालाई हल गर्न ज्योतिले नयाँ अवधारणा ल्याएको हो । 

‘वास्तवमा बैंकिङ क्षेत्रमा विगत एकवर्षमा बढेका शाखा अहिलेसम्म खोलिएका शाखा भन्दा पनि बढी भए । म्यानपावर पनि त्यही किसिमको नियुक्त भए, दौडादौड भयो, तर भर्ना भएका जनशक्तिमा ज्ञानको स्तर चाहि राम्रो भएन ।’ ज्ञवालीले बिजशालासँग भने–‘हामीमा पनि यो समस्या छ । हामीमा पनि भर्ना भएका कर्मचारीको दक्षताको जाँच गरी उनीहरुलाई आवश्यक तालिम दिने उद्देश्यले प्रत्येक तीन महिनामा कर्मचारीले अनलाइन परीक्षामा सहभागिता जनाउनुपर्ने प्रावधान लागू गर्न लागेका हौ।’ 

उनले बैंकका कर्मचारीको पढ्ने बानी समेत हराउँदै गएको उल्लेख गर्दै उनीहरुलाई पढ्न बाध्य बनाउने उद्देश्यले समेत यो कार्यक्रम ल्याइएको प्रष्ट्याए । ‘पढ पढ भनेर नपढ्ने भए । हाम्रो पनि नलेजको लेभल कम भएपछि संचालन जोखिम र अन्य जोखिम पनि सिर्जना हुन्छ । कर्मचारीलाई पढाउन यो उपाय खोजिएको हो ।’उनले थपे । 

बैंकले यसरी तीन महिनामा परीक्षामा सहभागी हुनेले एउटा लेभलको ग्रेडिङ ल्याउनुपर्नेछ । परीक्षामा ल्याएको अंकलाई बंैकले गर्ने परफरमेन्सको मूल्याङ्कनमा समेत राख्ने र बढुवामा समेत यो विषयलाई समावेश गर्ने बैंकको योजना छ । 

ज्ञवालीका अनुसार बैंकका तल्लो तहदेखि अफिसर लेभलसम्मका करिब सवा ८ सय कर्मचारीले प्रत्येक तीन महिनामा परीक्षाको सामना गर्नुपर्नेछ । 
‘पहिलो लेभलको जाँचमा कति नम्बर ल्याउँछन्, हेरिन्छ र त्यसका आधारमा कोर्सको डिजाइन गरी उनीहरुलाई अझ दक्ष बनाउने गरी पढाइन्छ, तालिम दिइन्छ ।’ डेभलपमेन्ट बैंकर्स एशोसिएसनका महासचिव समेत रहेका ज्ञवालीले बिजशालासँग भने–‘यो कार्यक्रम समग्र रुपमा कर्मचारीको प्रोत्साहनकै लागि ल्याउन खोजिएको हो ।’ 

नेपालको बैंकिङ उद्योगमा ज्योति यो प्रयोग एकदमै नौलो भने होइन । किस्ट बैंकले समेत आफ्ना कर्मचारीको दक्षता अभिवृद्धि गर्ने भन्दै यही प्रयोग गरेको थियो।