काठमाण्डौ । ज्योति विकास बैंकको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(एक्टिङ सीइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । 

बैंकको आइतबार बसेको संचालक समितिको बैठकले डेपुटी सीइओ ज्ञवालीलाई कायममुकायमको जिम्मा दिएको हो । 

बैंकका सीइओ कृष्णबहादुर कुँवरले पदबाट राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै संचालक समितिले बैंकको कमाण्ड ज्ञवालीको काँधमा सुम्पिएको हो । 

सीइओ कुँवरको संचालक समितिसँग वैमनश्यता उत्पन्न भएकै कारण आइतबार राजधानीमा आयोजित १० औं वार्षिक साधारणसभामा उपस्थित थिएनन् । एक्टिङ सीइओको हैसियतमा व्यवस्थापनको तर्फबाट ज्ञवालीले नै सेयरधनीले उठाएका प्रश्नको उत्तर दिएका थिए । 

आफ्नो नियुक्तिको बिषयलाई पुष्टि गर्दै ज्ञवालीले आफूलाई संचालक समितिले केही समयका एक्टिङको जिम्मेवारी दिएको प्रष्टाएका छन् । बैंकस्थित स्रोतका अनुसार ज्ञवालीलाई फूल सीइओ बनाउने या नबनाउने भन्ने बिषयको निक्र्यौल केही समयपछि मात्र हुनेछ । 

ज्ञवालीको संचालकहरुसँग राम्रो सम्बन्ध भएका कारण आगामी सीइओको रुपमा उनकै नियुक्ति हुने संभावना प्रवल छ ।