काठमाण्डौ । नवील बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ८३ करोडमा सीमित यस्तो प्रफिट बढेर यो वर्ष २ अर्ब ४ करोडको उचाईमा पुगेको हो । 

बैंकको खूद मुनाफा समेत १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब १७ करोड पुगेको छ । 

यस्तै, अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ६० करोडमा सीमित संचालन मुनाफामा १८.३१ प्रतिशतले वृद्धि भई ३ अर्ब ८ करोडको उचाई छोएको छ। 

समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानी २३.०२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ९३ करोड रहेको यस्तो आम्दानी बढेर ३ अर्ब ६१ करोड पुगेको हो । 

यो अवधिमा बैंकले १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २३.१६ प्रतिशतले बढाएको बैंकले कर्जातर्फ भने २६.९७ प्रतिशतको फड्को मारेको देखिएको छ । 

अघिल्लो वर्षसम्म बैंकको रिजर्बमा ७ अर्ब ८५ करोड रहेकोमा बढेर यो वर्ष १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यसरी बैंकले रिजर्बमा करिब ८५ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

बैंकले खराब कर्जाको अनुपात घटाउने मामलामा निकै ठूलो सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिमा १.१३ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा घटेर ०.६२ प्रतिशतमा सीमित भएको हो । 

नाफामा बढोत्तरीका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले वृद्धि भई ५४ रुपैयाँ २८ पैसा पुगेको छ । 
बैंकको प्रतिसेयर नेटवर्थ बढेर २८०.५७ रुपैयाँको उचाईमा पुगेको छ ।