काठमाण्डौ । टर्कीएको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्सले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ ।

एयरलाइन्सले आफ्ना सबै पाँच वटा म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो । 

प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमानहरू ग्राउन्ड हुनेछन् ।ग्राउन्डिङको निर्णय विमान पहिले अवतरण गर्ने विमानस्थलमा मान्य हुने बताइएको छ ।

‘उडान सुरक्षा हाम्रो उच्च प्राथमिकता हो’ कम्पनीका प्रेस सल्लाहकार याह्या उस्तुनले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भनेका छन् ।

कम्पनीले आकस्मिक ग्राउन्डिङले उडान तालिकामा प्रतिकूल असर पार्ने र यात्रा अवरोधहरू निम्त्याउने बताएको छ ।

कम्पनीले आकस्मिक निर्णय गरेको बखत टर्किस एयरलाइन्सका दुई विमानहरू भने इरानमा अवतरण गरेका छन् ।

कम्पनीले इरानमा रहेका ती बीमान टर्कीएमा ल्याउने हो कि हैन भन्ने बारेमा भने कुनै जवाफ दिएको छैन ।

अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ प्रकारको विमानको आकस्मिक निकासको ढोका शुक्रबार १६ हजार फिट उचाइबाट खसेको थियो । जसले ठूलो प्वाल पारेर यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो । 

ओरेगन राज्यको पोर्टल्याण्ड अन्तरराष्ट्रिय विमानस्थलबाट विमान उडेको केहि समयपछि भएको उक्त घटनाले यात्रुहरूलाई आतङ्कित बनाएको थियो ।

ओन्टारियो, क्यालिफोर्नियाका लागि गन्तव्यमा रहेको उक्त विमानले पोर्टल्याण्डमा आपत्कालीन अवतरण गरेको थियो ।

घटनामा कुनै पनि यात्रु घाइते भएनन् । विमानबाट खसेको हिस्सा भने एक जना शिक्षकको बगैंचामा फेला परेको थियो ।
टर्कीएका एक जना एक्स प्रयोगकर्ता उगुर्कन किजिलकुर्टले उक्त घटनालाई लिएर ब्यंग्य गर्दै सीट बेल्ट पनि नभइदिएको भए धेरै यात्रुहरू हावामा तैरने थिए भनेका छन् ।

टर्कीएकै बोइङका इजाजतपत्र प्राप्त प्राविधिक अब्दुल कादिर टुन्सरडेमले पनि ‘यो घटनाको कारण डिजाइनमा त्रुटि थियो कि थिएन भनेर निरीक्षणले देखाउने छ’ भनेका छन् । 
अमेरिकामा उक्त घटनापछि सो मोडलका १७१ वटा विमानको जाँच पुरा नभएसम्मका लागि रोक लगाइएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा प्राविधिकहरुले सिकागोस्थित युनाइटेड एयरलाइन्सले बोइङ ७३७ म्याक्स ९ विमानको निरीक्षण गर्दा विभिन्न बोल्टलाई ‘थप कस्न’ आवश्यक रहेको भनेका छन् ।

एयरलाइन्सले यी विमानहरू प्रयोग गर्नअघि ‘डोर प्लग’ सँग जोडिएका ‘इस्टलेसनको समस्या’ लाई ठिक गरिने पनि बताएको छ ।

डोर प्लग’ विमानसँग जोडिएको यस्तो हिस्सा हो जसको प्रयोग इमरजेन्सी एक्जिटका लागि प्रयोग गरिन्छ । -एजेन्सी