काठमाण्डौ । भारतको टाटा स्टिल कम्पनीले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउने आफ्ना कर्मचारीको परिवारलाई नियमित उपलब्ध गराउने घोषणा गरेको छ। 

मृतक कर्मचारीको आश्रित परिवारलाई नियमित तलबका साथै घरभाडा स्वास्थ्य सुविधा पनि उपलब्ध गराउने टाटा स्टिलले जनाएको छ। यी सुविधाहरु त्यस्ता कर्मचारी (मृतक) को ६० वर्ष उमेर हद अर्थात रिटायरमेन्ट (अवकाश) पाउने उमेरसम्म गणना गरेर दिइने कम्पनीले जनाएको छ।

यतिमात्र नभएर कम्पनीले त्यस्ता कर्मचारीका छोराछोरीको ग्राजुएसनसम्मको शिक्षाको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने घोषणा पनि गरिएको छ। टाटा स्टिलको यो घोषणाको सोसल मिडियामा निकै स्वागत गरिएको छ। 

यसअघि ओयो रुम्सले पनि यस्तै घोषणा गरेको थियो। उसले कोभिडबाट ज्यान गुमाउनेका आफ्ना कर्मचारीको आश्रित परिवारलाई ८ महिनाको तलब दिने र ५ वर्षसम्म छोराछोरीको शिक्षा खर्च व्यहोर्ने घोषणा गरेको थियो। 

यस्तै ग्यास कम्पनी बोरोसिलले पनि कोभिडकै कारण ज्यान गुमाउने कर्मचारीको परिवारलाई आउँदो २ वर्षसम्म नियमित तलब उपलब्ध गराउने निर्णय गरेको थियो। – एजेन्सी