काठमाण्डौ । टाटा मोटर्सले मेनेजर लेभलका १५ सय कर्मचारीहरुलाई जागिरबाट निश्कासन गरिदिएपछि खैलाबैला मच्चिएको छ । कम्पनीले यो कदमलाई संगठनात्मक पुनरसंरचनाको एउटा खुड्किलोको रुपमा लिए पनि यो कदमका कारण टाटा मोटर्सभित्रका अन्य कामदारमा समेत भूकम्प आएको संचारमाध्यमहरुले जनाएका छन् । 

टाटा मोटर्सका एमडी गुन्टर बुत्सेकले अन्तराष्टिय मिडियाहरुसँग भनेका छन् कि कम्पनीमा रहेका १३ हजार मेनेजरमध्ये १२ प्रतिशतलाई कामबाट निकालिएको छ । तर उनले अन्य कामदारहरुमाथि थप असर नपर्ने आश्वस्त पारे पनि यसले तहल्का मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

टाटा मोटर्सभन्दा पहिला लार्सन टर्बो नामको कम्पनीले समेत जारी अंग्रेजी आर्थिक वर्षको पहिलो ६ महिनामा १४ हजार कामदारको  जागिर खोसेको थियो । यस्तै, एचडिएफसी बैंकले समेत हालसम्म १० हजार कर्मचारीलाई विदा दिइसकेको छ । 

भारतको आइटी कम्पनीमा पनि कर्मचारी कटौतिको भूकम्प नै जाने गरेको छ । त्यहाँ हालसम्म निजी क्षेत्रका आइटी कम्पनीले ५० हजार मानिसको जागिर चट् पारिदिइसकेका छन् ।