काठमाण्डौ ।भारतीय बहुराष्ट्रिय कम्पनी टाटा ग्रूपले आईफोन उत्पादन गर्ने भएको छ ।

टाटा ग्रूपले आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलको सप्लायर्स विस्ट्रन कर्प को-अपरेसनलाई अधिग्रहण गरेर आफैंले आईफोन उत्पादन गर्ने भएको हो ।

कम्पनीले घरेलु बजार र अन्तरराष्ट्रिय बजारका लागि आईफोनको उत्पादन गर्ने  । 

टाटा ग्रूपको कम्पनी टाटा इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड(टीईपीएल) ले विस्ट्रन इन्फोकम म्यानुफ्याक्चरिङ(इन्डिया) प्रालिलाई अधिग्रहण गर्न १२५ लाख अमेरिकी डलरमा सम्झौता गरेको हो ।ताइवानको कम्पनी विस्ट्रन भारतीय बजारमा सन् २००८ मा प्रवेश गरेको थियो ।

नियामकीय कडाईका कारण यतिखेर एप्पलले चीनबाट कारखानालाई अन्य देशमा स्थानान्तरण गर्न खोजिरहेको छ । जसअनुसार उक्त सम्झौता भएको हो । अहिले भारतमा विस्ट्रन कर्पबाहेक फक्सकन र पेन्टागन कर्पले आईफोन उत्पादन गरिरहेका छन् ।

टाटाले झन्डै एक वर्षको वार्ता र गहन छलफलपछि विस्ट्रन कर्पलाई अधिग्रहण गरेको हो । यो कर्पोरेट क्षेत्रमा भारतकै ठूलो अधिग्रहण पनि हो । नुनदेखि प्रविधिका सेवाहरु बिक्री गर्दै आएको १५५ वर्षीय पुरानो टाटा ग्रूप भारतको अर्थतन्त्रको प्रमुख हिस्साका रुपमा रहेको छ ।

अवको साढे दुई वर्षमा टाटाले भारतमा नै आईफोन निर्माण गर्ने भारतका विद्युत तथा प्रविधिमन्त्री राजीव चन्द्रशेखरले बताएका छन् ।

विस्ट्रनले तामिलनाडुमा रहेको आफ्नो कारखानाबाट आईफोनको च्यासिस र अन्य पार्टहरु बनाइरहेको थियो । अब टाटाको अधिग्रहणपछि भने आईफोनको पूर्ण उत्पादनतर्फ काम हुने ब्लुम्बर्गले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।-एजेन्सी