काठमाण्डौ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले भूकम्पपीडितको नाममा अमेरिका छिरेर अस्थायी बसोबासको अनुमति पाएका ९ हजार नेपालीलाई घर फर्काउने तयारी थालेको छ ।
विभागले एक सूचना प्रकाशित गर्ने तयारी गरेको छ, जसमा ती ९ हजार नेपालीलाई आगामी सन् २०१९ जुन २४ तारिखसम्म घर फर्किन आग्रह गरिने वासिङ्टनपोस्टले जनाएको छ ।
होमल्याण्ड सेक्युरिटी विभागका सेक्रेटरी क्रिस्जेन नाइलसेनलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार भूकम्पपीडितको नाममा अमेरिका छिरेका वा अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका स्वरूप अमेरिकाले यो सेवा उपलब्ध गराएको थियो। महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो ।
ट्रम्प प्रशासनको यो प्रक्रियाले तीव्रता पाए टिपिएस सुविधामार्फत अमेरिका बसोबास गरिरहेका नेपालीलाई घर फर्कने तयारीका लागि १ वर्ष समय दिइनेछ ।
ठीक तीन वर्षअघि नेपालमा गएको ७.८ म्याग्नीच्युडको भूकम्पपछि अमेरिकाले नेपालीहरुलाई टेम्पोरोरी प्रोटेक्टेड स्टाटस(टिपिएस)को सुविधा उपलब्ध गराएको थियो । यो सुविधाको प्रयोग गर्दै ९ हजार टाठाबाठाले अमेरिकामा कानूनी रुपमै अस्थायी बसोबासको अनुमति पाएका थिए ।
अमेरिकी संसदले सन् १९९० देखि प्राकृतिक प्रकोप, सशस्त्र युद्ध लगायतका कारणले प्रभावित हुने देशका नागरिकहरुलाई अस्थायी आवास सुविधामार्फत संरक्षणका लागि टिपिएसको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।
हालै विभागले संकटग्रस्त विभिन्न तीन देशका नागरिकको टिपिएस भिसा समेत खारेज गर्ने निर्णय गरिसकेको छ । यो निर्णयपछि अमेरिकामा अस्थायी बसोबास गरिरहेका ती देशका करिब अढाई लाख नागरिक पनि निकट भविष्यमै स्वदेश फर्किनुपर्नेछ ।
अमेरिकाले देशको अवस्था हेरेर कतिपयको टिपिएस भिसाको समयअवधि समेत लम्ब्याउने गर्दछ । उसले हालै टिपिएसअन्तर्गत नै अमेरिका आएर अस्थायी बसोबास गरिरहेका ६ हजार सिरियालीहरुको भिसा थप गरेको थियो । उसले कुनै पनि देशको असहज अवस्थाका कारण टिपिएसको सुविधा दिने र अवस्था सहज भएपछि त्यसअन्तर्गत अमेरिका छिरेका वा अमेरिकामै गैरकानूनी रुपमा बसोबास गर्दै सो सुविधा लिएकाहरुलाई फर्काउने कामलाई पछिल्लो समय तीव्रता दिइरहेको छ । यही चपेटामा नेपालीहरु समेत पर्ने देखिएको समाचारमा जनाइएको छ ।
यस्तै, गत मे ६ मा विगत २ दशकदेखि अमेरिका टिपिएस सुविधा पाएर बसोबास गर्दै आएका हुण्डरसका ५७ हजार नागरिकलाई समेत डिपोर्ट गर्ने अमेरिकी प्रशासनले निर्णय गरिसकेको छ ।
भूकम्पपछि करिब १५ हजार नेपालीले अमेरिकामा टिपिएस स्टाटस पाएका थिए, तर तीमध्ये यही स्टाटसमा हाल ९ हजार नेपाली मात्र बस्दै आएका छन् । ९ हजारमध्ये अधिकांश न्यूयोर्क सिटी आसपासमै बसोबास गरिरहेका समाचारमा जनाइएको छ ।
नेपालीहरुलाई घर फर्काउने यो बिषयमा आधिकारिक निर्णय नै नभए पनि डकूमेन्टहरुले निकट भविष्यमै अमेरिकाले ९ हजार नेपालीलाई फर्काउने घोषणा गर्ने निश्चित देखिएको पोस्टको समाचारमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago