– रेखा चन्द

काठमाण्डौ । ट्रेजरी बिलको ब्याजदर (डिस्काउन्ट रेट) पुुनः बढ्दै जान थालेको छ। 

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदै जाँदा ट्रेजरीको ब्याजदर पनि बढ्दै गएको देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुुसार कात्तिक ५ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ। 

यस्तै नेपाल बैंकर्स एसोसिएन (एनबीए) को तथ्यांकमा कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ। कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको एनबीएले जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप घटेकै बेला जारी भएको ट्रेजरीमा डिस्काउन्ट रेट झन्डै १३ प्रतिशत नै माग गरिएको पाइएको छ। पछिल्लोपटक जारी भएको १६ अर्ब ६६ करोड रुपैयाँकोे ट्रेजरीमा उक्त ब्याजदरको अफर गरिएको हो। 

केन्द्रीय बैंकले मंगलबार ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो। आन्तरिक ऋण उठाउन प्रयोग गरिएको उक्त अल्पकालीन सरकारी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १२.७०४४ प्रतिशतसम्म डिस्काउन्ट रेटको अफर गरेका हुन्। 

९१ दिने ५ अर्ब १० करोड रुपैयाँको ट्रेजर खरिदका लागि १९ बैंक वित्तीय संस्थाले ४ वटा आवेदनमार्फत १० अर्ब १ करोड रुपैयाँको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ९.०४११ प्रतिशत र अधिकतम ११.४३८ प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो । उक्त ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.१९६० प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

यस्तै १८२ दिने ट्रेजरका लागि १८ बैंक तथा वित्तीय संस्थाले १०२ वटा आवेदनमार्फत ११ अर्ब १४ करोड रुपैयाँको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकका अनुुसार यो अवधिको ट्रेजरीमा न्यूनतम १०.३००१ प्रतिशत र अधिकतम १२.७०४४ प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो। यसमा औसत डिस्काउन्ट रेट भने ११.६४२५ प्रतिशत कायम भएको छ। 

केन्द्रीय बैंकले ३६४ दिने ट्रेजरीका लागि १६ बैंक तथा वित्तीय संस्थाबाट ५९ वटा आवेदनमार्फत ७ अर्ब १९ करोड रुपैयाँको बोलकबोल पेस भएको जनाएको छ। यसमा न्यूनतम १०.५०९४ प्रतिशत र अधिकतम ११.४३०० प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो। औसत डिस्काउन्ट रेट १०.९७५७ प्रतिशत कायम भएको छ। 

यी तीनै प्रकारका ट्रेजरीमा राष्ट्र हस्तक्षेप गरेको छैन। बैंक तथा वित्तीय संस्थाहरुले नै बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ। 

यसअघि ट्रेजरीको ब्याजदर दोहोरो अंकमा पुुग्दा पटक–पटक हस्तक्षेप गर्दै आएको राष्ट्र बैंकले यसपटक १२ प्रतिशतमाथि पुुग्दा पनि बोलकबोलमा सहभागी भएकाहरुलाई नै नवीकरण गर्न दिएको छ। जसका कारण पनि ट्रेजरी बिलका ब्याजदर अझै बढ्न सक्ने संकेत देखिएको छ। 

तरलता संकट हुँदै जाँदा उच्च ब्याज अफर गर्दै आएका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलेसमेत हस्तक्षेप नगर्दा आगामी दिनमा अझै बढी ब्याजदर माग गर्न सक्ने देखिएको हो।