काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कको आगमनपछि ट्विटरमा धेरै परिवर्तन हुन सक्ने देखिएको छ। 

ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता पूरा गरेपछि मस्कले ट्विटरबाट धेरै उच्च अधिकारीलाई बर्खास्त गरे। अब मस्कको कदम यतिमात्रै सीमित नरहने देखिएको छ। उनी कम्पनीबाट थप ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारीमा छन्। 

न्युयोर्क टाइम्सका अनुसार कर्मचारी कटौतीका लागि मस्कले शाखा प्रमुखहरुलाई सूची तयार गर्न निर्देशन दिएका छन्। 

हाल ट्विटरमा ७ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

मस्कले सम्झौता फाइनल गरेपछि धेरैलाई कम्पनीबाट निकाल्न सक्ने संकेत गरिसकेका थिए। मस्कले सबैभन्दा पहिले ट्विटरका सीईओ पराग अग्रवाल, मुख्य वित्त अधिकारी नेड सेगल र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरिसकेका छन्। 

पराग अग्रवाल र विजया गड्डे यस सम्झौताको सुरुदेखि नै मस्कको निशानामा थिए। उनले दुवैले सुरुदेखि नै गलत सूचना दिएको आरोप लगाउँदै आएका थिए। –एजेन्सी