काठमाण्डौ । लामो समयसम्म विश्वकै धनी व्यक्तिको रुपमा चिनिएका र हाल विश्वको चौथो धनी व्यक्ति तथा माइक्रोसफ्ट कम्पनीको संस्थापक बिल गेट्सले २० अर्ब डलर दान दिने घोषणा गरेका छन् । 

गेट्सले कोभिड १९ महामारी र अन्य समस्याबाट बेहाल अवस्थामा पुगेका मानिसहरुको सहयोगका लागि आफ्नो फाउण्डेसनमार्फत २० अर्ब डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका हुन् । 

यो दानसँगै बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग ७० अर्ब डलरको विशाल फण्ड तयार भएको छ । यस्तै, यो फाउण्डेसन विश्वकै सबैभन्दा ठूलो च्यारिटी संस्थाको सूचीमा सामेल भइसकेको छ। 

वर्कसाय हाथ्वेका प्रमुख तथा अमेरिकाका ठूला लगानीकर्ता वारेन बफेटले पनि गत महिना गेट्स फाउण्डेसनलाई ३.१ अर्ब डलर प्रदान गर्ने घोषणा गरेका थिए । गेट्सले अन्य धनाढ्यले पनि दानको यो क्रमलाई अगाडि बढाउने आफूले अपेक्षा राखेको बताएका एजेन्सीहरुमा प्रकाशित समाचारमा उल्लेख छ । 

गेट्स फाउण्डेसनले २०२६ सम्ममा आफ्नो वार्षिक बजेटमा ५० प्रतिशतसम्मको वृद्धि गर्ने योजना बनाएको छ । फाउण्डेसनका अनुसार बढ्दो फण्डको प्रयोग शिक्षा सुविधा दिन, गरीबी हटाउन, रोग तथा प्रकोप नियन्त्रण गर्न तथा महिला पुरुषबीच समानता कायम गरी विश्वकै प्रगतिका लागि हुनेछ । 

गेट्सले आफ्नी पत्नीसँग मिलेर २० वर्षअघि यो फाउण्डेसन स्थापना गरेका थिए । यी दुवैले आफ्नो सम्पत्तिको निकै ठूलो हिस्सा फाउण्डेसनलाई दान गरिसकेका छन् । सन् २०२१ मा गेट्स र उनकी पत्नीको पारपाचुके भएको थियो ।