काठमाण्डौ । संभावित जोखिम व्यवस्थापनका लागि विनियोजित ४ अर्ब २६ करोड रुपैयाँ बढी राइटब्याक गरेसँगै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको खूद नाफामा उछाल आएको छ । 

ठूलो रकम राइटब्याक भएपछि निर्धन उत्थानको खूद नाफा २२३.२६ प्रतिशतले बढेर  ९१ करोड ९१ लाखको उचाईमा पुगेको हो । 

नाफामा उछाल आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) पनि १८.९६ रुपैयाँबाट बढेर ५४.२३ रुपैयाँको उचाईमा पुगेको छ । 

व्यवसाय विस्तारमा पनि यो कम्पनीले सुधार गरेको देखिन्छ, फलस्वरुप अघिल्लो वर्ष १ अर्ब ४९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब १४ करोड माथि पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५१.३९ प्रतिशतले जगेडाकोषमा सुधार गरेको कम्पनीले ६ अर्ब ३२ करोड बढी सापटी लिई तथा १५ अर्ब ८१ करोड बढी निक्षेप संकलन गरी २४ अर्बभन्दा बढीको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा सापटी करिब ९ प्रतिशतले घटेको छ भने निक्षेप करिब १९ प्रतिशतले तथा कर्जा प्रवाह करिब २० प्रतिशतले बढेको छ । 

यो कम्पनीको कर्जामा भने कोरोनाको प्रभाव निकै राम्रोसँग देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा १.८३ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर यो वर्ष ४.११ प्रतिशत पुगेको छ । कम्पनीको वित्तीय स्वास्थ्यका लागि खराब कर्जाको अनुपात यसरी बढ्नु सुखद संकेत होइन । 

अघिल्लो वर्ष ८.५५ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर यो वर्ष ६.७४ प्रतिशतमा सीमित बन्न पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही बढी २६५.२५ रुपैयाँ कायम भएको छ । 

चौथो त्रैमासको अन्तिम दिनको बजार मूल्यका आधारमा कम्पनीको पीई रेसियो २९.५० गुणा कायम भएको छ ।