काठमाण्डौ । टेक कम्पनी इन्टरनेसनल बिजनेस मेसिन्स कर्पोरेसन (आईबीएम)ले कर्मचारीको ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भर्ती गर्ने योजना बनाएको छ। कम्पनीका सीईओ अरविन्द कृष्णले ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन्। 

आगामी वर्षहरुमा कम्पनीमा कर्मचारी नियुक्ति रोकेर एआईद्वारा रोजगारी प्रतिस्थापन गर्ने अपेक्षा गरिएको अरविन्दले बताए। यसले मुख्यतया मानव संसाधन र प्रशासनजस्ता ब्याक–अफिस कार्यहरु भएका कर्मचारीहरुलाई असर गर्नेछ।

अरविन्दले भने, ‘हाल कम्पनीमा गैरग्राहकमुखी भूमिकामा करिब २६ हजार कामदार छन्। आगामी ५ वर्षमा ३० प्रतिशत कर्मचारीलाई एआई र अटोमेसनले प्रतिस्थापन गर्ने मैले देखेको छु। यसको मतलब आईबीएमले लगभग ७ हजार ८०० कर्मचारीलाई एआईबाट प्रतिस्थापन गर्न सक्छ।’

आईबीएममा हाल २.६ लाख कर्मचारी छन्। कम्पनीले सफ्टवेयर विकास र ग्राहक सामना गर्ने भूमिकाका लागि निरन्तर कर्मचारी भर्ती गर्दैछ। 

यसैबीच सीईओ अरविन्दले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीमा करिब ७ हजार कर्मचारी नियुक्ति भएको जानकारी दिए।

आईबीएमले जनवरीमा मात्रै आफ्नो कुल ग्लोबल वर्क फोर्सबाट ३ हजार ९०० कर्मचारीलाई हटाएको थियो। –एजृेन्सी