काठमाण्डौ । जापानको मुद्रा अमेरिकी डलरको तुलनामा ३२ वर्षयताकै कमजोर हालतमा पुगेको छ।

अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्रगतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानिज येन न्यून विन्दुमा पुगेको थियो। प्रतिअमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो।

जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्। एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै गत महिना जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो। ‘सट्टेबाजी शैलीद्वारा निर्देशित मुद्रा बजारको अस्थिरता हामी सहने छैनौँ। निकै गम्भीरताका साथ हामी मुद्रा बजार नियालिरहेका छौँ’, सुजुकीले वाशिङ्टन डिसीमा जी सेभेन समूहको बैठकपश्चात पत्रकारलाई भनेका थिए।

गत महिना जापानले येनलाई उकास्न विश्व मुद्रा बजारमा हस्तक्षेप गरेको थियो। २४ वर्षयताकै सबभन्दा कमजोर विन्दुमा येन पुगेपछि जापान सरकारले उक्त कदम चालेको थियो। 

त्योभन्दा अगाडि जापान सरकारले सन् १९९८ मा मात्र मुद्रा बजारमा त्यसरी हस्तक्षेप गरेको थियो। तर, विश्लेषकहरुले चाहिँ अमेरिकाको तुलनामा जापानमा निकै कम ब्याज दर रहेसम्म यस्ता हस्तक्षेपको खासै कुनै प्रभाव नहुने बताएका छन्।

पछिल्ला महिनाहरुमा जापानी येनमाथि लगातार चाप बढिरहेको छ। दुई देशका केन्द्रीय ब्याङ्कहरुले अपनाएका भिन्न नीति नै त्यसको मुख्य कारण भएको बताइएको छ।

बिहीबार अमेरिकामा प्रकाशित पछिल्ला विवरणमा त्यहाँ गत महिना अपेक्षा गरिएभन्दा धेरै उपभोक्ता मूल्यवृद्धि भएको देखियो। अर्थात् विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मुद्रास्फीतिसँग संघर्षरत छ।

सेप्टेम्बरसम्मको १२ महिनामा त्यहाँको महँगी वा मुद्रास्फीति दर ८.२% रह्यो जुन अगस्टको ८.३% भन्दा केही मात्र कम थियो। अमेरिकाको फेडरल रिजर्भले मुद्रास्फीतिलाई कम गराउन चालेका कदमले डलरको भाउ बढिरहेको छ।

महँगीसँग जुझ्न फेडरल रिजर्भले निरन्तर ब्याज दर बढाइरहेको छ। यसले लगानीकर्ताहरुका निम्ति डलर झन् झन् आकर्षक बनेको छ। जब कि बैंक अफ जापानले चाहिँ ब्याज दर कम पारिरहेको छ। 

डलरको बढ्दो शक्तिका कारण पाउण्ड र युरोजस्ता अन्य मुख्य अन्तर्राष्ट्रिय मुद्राहरुको मूल्यमा पनि प्रभाव परिरहेको छ। –बीबीसीबाट