काठमाण्डौ । डिजिटल बैंकिङ सेवा बिस्तारमा सनराइज बैंक आक्रामक बन्दै गएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै ग्राहकलक्षित विभिन्न अफर तथा योजना धमाधम सार्वजनिक गरिरहेको छ । 

यही क्रममा बैंकले पूर्वी नेपालका प्रमुख शहरहरुमा ख्यातिप्राप्त गोरखा डिपार्टमेन्ट स्टोरसँग सम्झौता गरी उसका स्टोरहरुमा कुनै पनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुट उपलब्ध गराउने अफर सार्वजनिक गरेको हो ।

यस्तो अफर स्थानीय ग्राहकलाई उपलब्ध गराउने सम्बन्धी सम्झौतामा सनराइज बैंकका तर्फबाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका तर्फबाट प्रबन्ध निर्देशक बलराम आचार्यले चैत २० गते हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँग सहकार्य गरी गोरखा डिपार्टमेन्ट स्टोरका सबै(५ वटा) शाखाहरुबाट सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गर्नेछ ।

बैंकमा खाता नभएका ग्राहकले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तत्काल प्रिपेड डेविट कार्ड प्राप्त गरी छुटको सुविधा उपभोग गर्न सक्नेछन् । यो योजना २०७५, बैशाख १ गतेदेखि लागू हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरीदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले यो योजना ल्याइएको प्रष्ट पारेको छ ।