काठमाण्डौ । छिमेकी मुलुक भारतमा पेट्रोलभन्दा डिजेलको मूल्य महँगो भएको छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन खुलेपछि भारतमा पेट्रोल र डिजेलको मूल्यमा बढोत्तरी आएको छ। तर आश्चर्यको कुरा के भयो भने पेट्रोलभन्दा सस्तो रहने डिजेलको मूल्य अहिले पेट्रोलभन्दा महँगो भएको छ। 

डिजेलको मूल्यमा भएको बढोत्तरीले आउने समयमा आवश्यकीय वस्तुको मूल्यमा असर पर्न सक्ने विज्ञहरु बताउँछन्। किनकि डिजेल महँगो हुनासाथ सामान ढुवानीमा बढोत्तरी हुन सक्छ।

भारतको राजधानी दिल्लीमा पहिलोपटक पेट्रोलभन्दा डिजेल महँगो भएको हो। दिल्लीमा लगातार १८ दिनदेखि डिेजेलको मूल्य बढिरहेको छ जब कि पेट्रोलको दाम हिजो मंगलबारमात्र बढेको थियो।

पछिल्लो १८ दिनमा दिल्लीमा डिजेलको मूल्यमा प्रतिलिटर भारु १०.४८ बढोत्तरी भएको छ। जब कि पेट्रोल प्रतिलिटर भारु ८.५ ले महँगिएको छ।

तेल कम्पनीहरुका अनुसार भारतको राजधानी दिल्लीमा बुधबार पेट्रोलको भाउ स्थिर प्रतिलिटर भारु ७९.७६ रहेको छ। तर डिजेलको मूल्य हिजोको तुलनामा प्रतिलिटर भारु ७९.४० बाट बढेर भारु ७९.८८ पुगेको छ। अर्थात डिजेलको मूल्य पेट्रोलको मूल्यभन्दा १२ पैसा बढी भएको छ।

इन्डियन आयल कर्पोरेसनको वेबसाइटका अनुसार दिल्ली कोलकाता, मुम्बई र चेन्नईमा पेट्रोलको मूल्य बढेर क्रमशः भारु ७९.७६, ८१.४५, ८६.५४ र ८३.०४ प्रतिलिटर पुगेको छ। यसैगरी डिजेलको मूल्य पनि यी चारै सहरमा बढेर क्रमशः भारु ७९.८८, ७५.११, ७८.२४ र ७७.२५ प्रतिलिटर पुगेको छ।

हिजो मंगलबार दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा पेट्रोलको दाम क्रमशः २०, १८, १८ र १७ पैसाले बढेको थियो। त्यहीँ डिजेलको दाम क्रमशः ५५, ४९, ५२ र ४७ पैसाले बढेको छ।

नेपालमा समेत भारतबाटै पेट्रोलियम पदार्थ आउने गर्दछ। भारतमा हुने मूल्यको उतारचढावको सोझो असर नेपाली बजारमा समेत पर्छ।

हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ। अनि नेपाल आयल निगमले सोहीअनुसार घरेलुबजारको मूल्य निर्धारण गर्ने गर्दछ। – एजेन्सी