काठमाण्डौ । संचालकहरुको विवाद र बित्तीय अराजकताका कारण टाट पल्टने अवस्थामा पुगेपछि नेपाल राष्टबैंकले हस्तक्षेप गरी व्यवस्थापन सम्हालेको एनसीसी बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

यो बैंकले खूद नाफालाई ७२.४७ प्रतिशतले वृद्धि गर्दै स्वस्थ वाणिज्य बैंकहरुको सूचिमा आफूलाई उभ्याउन सफल भएको छ । 

बैंकले बिहीबार प्रकाशन गरेको बित्तीय विवरणका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ७० करोड ३० लाख खूद नाफा आर्जन गरेको हो । आब ०७१/७२ मा यो बैंकको खूद नाफा ४० करोड ७६ लाखमा सीमित थियो । 

बैंकले आफ्नो कोर विजिनेश निकै बढाएको छ । यही कारण खूद ब्याज आम्दानी ८० करोड ३८ लाखबाट बढेर १ अर्ब १८ करोड पुगेको छ । संभावित जोखिम व्यवस्थापन कोष १० करोड ८० लाख रहेकोमा बढाएर २३ करोड १७ लाख पुर्याइएको छ । यो बैंकले डूबेको ऋण उठाउन विशेष ध्यान केन्द्रीत गरेका कारण खूद नाफामा कमालको प्रगति हासिल गरेको हो । 

एनसीसी बैंकको चुक्तापूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने १ अर्ब २८ करोडको सञ्चित कोष रहेको छ । 

एनसीसी बैंकले ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २४ अर्ब ८९ करोड ऋण लगानी गरेको छ । अघिल्लो आबमा बैंकले २६ अर्ब ६६ करोड निक्षेप संकलन गरी २१ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको थियो । 

एनसीसी बैंकले निस्क्रिय कर्जामा पनि चमात्कारिक सुधार गरेको छ । १.९३ प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर ०.९० प्रतिशतमा झारिएको छ । सीडी रेसियो ७९.४८ प्रतिशत रहेको छ । 

बैंकको वार्षिक प्रति सेयर आम्दानी २९.८८ र प्रति सेयर नेटवर्थ १५४.५७ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १२.१५ गुणा कायम भएको छ । यति थोरै मूल्य आम्दानी अनुपात कायम हुनुको अर्थ कुनै पनि कम्पनी बित्तीय रुपमा स्वस्थ रहेको संकेत हो । 

एनसीसी बैंकको नेतृत्वमा इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्जर प्रक्रियामा छन् । कुमारी बैंक पनि यी बैंकसँग मर्जर प्रक्रिया रहे पनि सेयर स्वाप रेसियोमा असहमति जनाउँदै उसले केही हप्ताअघि मर्जर प्रक्रियाबाट बाहिरिने निर्णय गरेको थियो ।