काठमाण्डौ । रेष्टुराँहरूको प्रसिद्ध सञ्जाल सर्वणा भवनका सञ्चालकले हत्याको आरोपमा अन्ततः आजीवन कारावासको सजाय काट्नैपर्ने भएको छ। सो सजायलाई पन्छाउन ७१ वर्षीय पी राजगोपालले गरेको अन्तिम अपील अदालतबाट अस्वीकृत भएको छ।

आफ्नै एक कर्मचारीकी श्रीमतीसँग बिहे गर्न चाहेका राजगोपालले उनको हत्या गरिदिएका थिए। 

सन् २००९ मा सजाय पाएदेखि त्यसबाट बच्न राजगोपाल सङ्घर्षरत थिए।
 

'डोसा किङ्ग'

स्वास्थ्यको कारण देखाउँदै उनले अपील गरे पनि अदालतले त्यसलाई अस्वीकार गरिदिएको छ। विश्वभरि सर्वणा भवनका ८० वटा शाखा र हजारौँ कर्मचारी छन्।

राजगोपालका रेष्टुराँमा दक्षिण भारतीय परिकार डोसा लोकप्रिय भएपछि उनी 'डोसा किङ्ग' उपनामले परिचित भए। उनका रेष्टुराँका शाखाहरू न्यूयोर्क, लण्डन र सिडनीजस्ता विश्वका प्रमुख शहरहरूमा छन्।

एकजना ज्योतिषीको सल्लाह अनुसार राजगोपालले आफ्ना एक कर्मचारीकी श्रीमतीसँग बिहे गर्न चाहेका थिए। एकजना स्थानीय पत्रकार डी सुरेश कुमारले भने, "उनी ती महिलाप्रति निकै आशक्त थिए।"

सन् २००१ को अक्टोबर १८ तारिखमा आफ्ना युवा कामदार प्रिन्स सन्तकुमारको अपहरण गरी हत्या गरेको आरोपमा राजगगोपाल दोषी पाइएका थिए। सन्तकुमारकी श्रीमतीसँग बिहे गर्न सकियोस् भनेर उनले हत्या गरेका थिए।

चेनईस्थित उच्च अदालतले 'निश्चित उद्देश्यका साथ हत्या गरिएको' ठहर गर्दै सन् २००९ मा राजगोपाललाई जन्मकैद सुनाएको थियो। पछि सो आदेशलाई भारतको सर्वोच्च अदालतले सदर गरिदियो।

त्यसअघि सन् २००४ मा विशेष अदालतले राजगोपाल र उनका पाँचजना साथीलाई १० वर्षको कारावास सजाय सुनाएको थियो।

चेनईस्थित उच्च अदालतले राजगोपाललाई ५५ लाख भारु जरिवाना पनि सुनाएको थियो र त्यसमध्ये ५० लाख रुपैयाँ सन्तकुमारकी श्रीमती जीवनज्योतिलाई दिन भनिएको थियो।

आफ्नो अन्तिम अपील अदालतबाट अस्वीकृत भएपछि राजगोपालले मङ्गलवार चेनईस्थित उच्च अदालतमा आत्मसमर्पण गरेका हुन्।

घटना के थियो?

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार राजगोपालले ज्योतिषीको सल्लाह बमोजिम जीवनज्योतिसँग बिहे गर्ने अड्डी कसे। त्यतिबेला उनका दुई श्रीमती थिए।

द न्यूयोर्क टाइम्सका अनुसार बिहेको केही महिनापछि सन्तकुमार र जीवनज्योति एउटा ट्राभल एजेन्सी शुरू गर्नका निम्ति ऋण लिन राजगोपाल र जीवनज्योतिका काकाकहाँ गएका थिए।

त्यहाँ जीवाज्योतिलाई देखेर राजगोपाल उनीप्रति आकर्षित भए। उनले जीवनज्योतिलाई दिनहुँ फोन गर्न थाले र महँगो गहनाहरू पठाउन थाले।

सन् २००१ को सेप्टेम्बर २८ मा राति सन्तकुमारको घर गएर राजगोपालले जीवनज्योतिसँग विवाह तोड्न धम्की दिए।

राजगोपालले आफ्नी कान्छी श्रीमतीले शुरूमा आफूलाई अस्वीकार गरेको भए पनि बिहेपछि अहिले 'रानीले जस्तो जीवन पाएको' जीवनज्योतिलाई सुनाए।

सन्तकुमार र जीवनज्योति त्यहाँबाट भाग्ने कोशिश गरे पनि राजगोपालका पाँचजना कर्मचारीले उनीहरूलाई बलपूर्वक कारमा राखेर केके नगरस्थित एउटा गोदाममा लगे।

त्यहाँ राजगोपाल र उनका साथीहरूले सन्तकुमारलाई कुटपिट गरे। बल्लतल्ल त्यहाँबाट ज्यान जोगाएर उनले घटनाबारे प्रहरीमा उजुरी गरे।

त्यसको ६ दिनपछि राजगोपालका कर्मचारीले फेरि सन्तकुमारलाई अपहरण गरे र जीवनज्योतिदेखि टाढा पारिदिए।

पछि सन्तकुमारको शव एउटा जङ्गलमा प्रहरीले फेला पर्यो र घाँटी थिचेर उनलाई मारिएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भयो।

राजगोपालले नोभेम्बर २३ मा आत्मसमर्पण गरे, तर सन् २००३ को जुलाई १५ तारिखमा उनले जमानत पाए।

आकाशबाट धर्तीमा

सन् २०१४ मा द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचार अनुसार राजगोपालले सन् १९८१ मा केके नगरमा आफ्नो पहिलो रेष्टुराँ खोले।

त्यसअघि उनको किराना पसल थियो र एकजना ज्योतिषीको सल्लाह अनुसार उनले रेष्टुराँ व्यवसायमा हात हाले।

ज्योतिषीले राजगोपाललाई भनेका थिए- उनले यस्तो काम गर्नुपर्छ जसमा अग्नि समावेश होस्।

राजगोपाललाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, "सस्तो मसलाको प्रयोग गर्न र कर्मचारीलाई जतिसक्दो कम तलब दिन मलाई सलाह दिइयो। मलाई त्यो सल्लाह मन नपरेपछि सल्लाहकारलाई निकालिदिएँ।"

राजगोपालले आफ्नो रेष्टुराँको परिकारमा नरिवलको तेल र गुणस्तरीय मसलाको नै प्रयोग गरे। तर एक महिनामै उनले १० हजार भारु घाटा बेहोरे।

घाटाको एउटा कारण के थियो भने उनको रेष्टुराँमा कुनै पनि परिकार एक रुपैयाँभन्दा महँगो थिएन। तर खाना निकै स्वादिलो हुन्थ्यो र हेर्दा हेर्दै उनको व्यवसायमा नाफा हुन थाल्यो।

नाफा बढ्दै जाँदा कर्मचारीको तलब पनि राजगोपालले बढाउँदै लगे र त्यसबेला भारतका अरू रेष्टुराँमा नपाइने सुविधा उनले आफ्ना कर्मचारीलाई दिन थाले। – बीबीसी नेपाली सेवा