-प्रकाश बञ्जारा
यूएई । काठमाण्डौ घर भई झण्डै ९ बर्षदेखि दुबईमा सुरक्षा गार्डको काम गर्दै आएका अर्जुन ओलीले सवारी चालक अनुमतिपत्र लिएको २ वर्ष भयो । भाषाको ज्ञान, कामको अनुभव र हातमा लाईसेन्स भएपछि राम्रो तलव सुविधाको जागिर पाईहाल्ने आशामा सवारी चालक अनुमतिपत्र लिन हौसिएका अर्जुनले पहिले त मेनुअल सवारीको लाईसेन्सका लागि प्रयास गरे । ६ पटकसम्मको प्रयास असफल भएपछि मेनुअल छाडेर अटोमेटिक गाडीको लाईसन्स लिनतिर लागे । 

सवारी चालक अनुमतिपत्र लिनका लागि अनिवार्य रुपमा तालिमकेन्द्र जानुपर्ने र लाईसेन्सको परीक्षा समेत त्यहीँबाट हुने भएकाले दुवै खाले लाईसेन्सका लागि थुप्रै कक्षा धाए अर्जुनले । र, सातौं पटकमा सफलता हात लाग्यो । 

हल्का सवारीको लाईसेन्स हात पार्न अर्जुनले झण्डै १५ हजार दिराम अर्थात नेपाली ४ लाख बीस हजार रुपैयाँ खर्च गरे । लाईसेन्स लिएपछिका विविध सपना अहिलेसम्म सपनामै सीमित भएका छन् अर्जुनका । 

कम्पनीहरुले जस्तोसुकै सवारी साधन पनि चलाउनसक्ने आफूलाई आवश्यक परेको बेला तुरुन्त भनेको काम गर्नसक्ने मेनुअल सवारी चालक नै खोज्ने भएकाले पनि अर्जुन जस्ताले तुरुन्त काम पाउन नसकेका हुन् । 

“फुर्सदको समयमा काम खोजिरहेको छु । तर जहाँ पनि मेनुअल लाईसेन्स चाहिन्छ भन्छन्, त्यही भएर अहिलेसम्म पुरानै कामलाई निरन्तरता दिइरहनु परेको छ।”–अर्जुन भन्छन् । 

स्याङ्जाका प्रविण पोख्रेल(नाम परिवर्तन) दुवईमा अर्का नेपाली लाईसेन्स पीडित हुन् । लाईसेन्सकै लागि पोख्रेलले यहाँको रोड एण्ड ट्रान्सपोर्ट अथोरिटि आरटिएसँग ६ पटकसम्म प्रयोगात्मक परिक्षा अर्थात फाइनल टेस्ट दिए । “बारम्बार असफल भएपछि अब नसकिने रहेछ भनेर छोडिदिएँ पैसा पनि निकै खर्च भयो।”–पोख्रेल भन्छन् । 

कम्पनीले खान, बस्न तथा यातायातको लागि एकमुस्ट नगदै दिने र समयको बचतका साथै कम खर्चमै गन्तव्यमा पुग्न सकिने तथा आफ्नै सवारी भए दिनहुँ सार्वजनिक यातायातको भर पर्नु नपर्ने हुँदा लाईसेन्सका लागि लोभिएर ड्राईभिङ्ग स्कूल धाएको पोख्रेलले बताए । लाईसेन्स निकाल्ने आशामा पोख्रेलको झण्डै नेपाली २ लाख ५० हजार खर्च भयो । 

नेपालको हल्का सवारी चालक अनुमतिपत्र भएका नवलपरासीका लालबहादुर चौधरीले भने तेस्रो ट्रायलमै लाईसेन्स निकाल्न सफल भए । तीनपटकमै निकाल्दा पनि झण्डै नेपाली ३ लाख ५० हजार रुपैयाँ खर्चिनुपरेको बताउने चौधरी अहिले भने सरर आफ्नै कारमा काममा जान्छन् । आफ्नै कार भएको हुँदा साथीभाई भेट्न बाहिर घुमफिर गर्न सजिलो भएको बताउने चौधरीको बुझाईमा यहाँ दुवईमा लाईसेन्स भन्दा कार नै सस्तो पर्छ । “निम्न तथा मध्यम वर्गको सानो तलबमा काम गर्नेहरुले नयाँ कार त किन्न गाह्रै हुन्छ, तर सेकेण्ड हेण्ड कार सस्तैमा पाईन्छ ”।–चौधरी भन्छन् । 

झण्डै साढे तीन लाख लाईसेन्समा लगाएका उनले तीन लाखमै निसानको कण्डिसन कार खरिद गरेको सुनाए । 

अरुले कार चढेको देखेकै भरमा लाईसन्स लिएपछि के गर्ने भन्ने योजना नै नबनाई हौसिनाले गर्दा नेपालीहरु सवारी चालक अनुमति पत्रमा धेरै पैसा डुबाउने गरेको चितवनका प्रविण क्षेत्री बताउँछन् । १० बर्ष अगाडि लाईसेन्स लिएका प्रविण भने धेरै मध्येका भाग्यसाशी हुन्, जसले पहिलै पटकको प्रयोगात्मक परीक्षा अर्थात एकै ट्रायलमा लाईसेन्स लिन पाए । तालिम केन्द्र धाउँदाको भाडा र तालिम केन्द्रमा तिरेको शुल्क गरी झण्डै २५ सय दिराम अर्थात नेपाली ७० हजार रुपैया जति मात्र खर्चमा उनको हातमा सवारी चालक अनुमतिपत्र आयो । उनले दुवईमा कार चलाएर हिँडेको मात्रै पनि ९ वर्षभन्दा बढी भइसकेको छ ।  

समय र खर्च पनि लाग्ने हुँदा राम्रो आर्थिक योजनाका साथै, केका लागि सवारी चालक अनुमतिपत्र लिने भन्ने योजना बनाएर मात्र अघि बढ्नुपर्ने सवारीका आकांक्षीहरुलाई प्रवीणको सुुझाव छ।

आफ्नै कारमा आरामदायी यात्रा गर्नु मध्ययम तथा निम्न वर्गिय नेपालीका लागि सपना भन्दा अरु हुनसक्दैन, तर  अरबले कतिपयलाई विपनामै सक्षम बनाईदिएको छ । आफ्नै कारमा रमाईलो यात्रा गर्न सबैका लागि सम्भव हुँदैन, कसै कसैले किन्न सक्छन् । किन्नु मात्र पनि ठूलो कुरा हुँदैन त्यसलाई चलाउनु, तेल हाल्नु, समय–समयमा मर्मत सम्भार गर्नु उत्तिकै महत्वपूर्ण कुरा हुन आउँछ । त्यत्ति मात्र नभएर देश अनुसारको भेष भने झैं बेला–बेलामा इञ्जिन चेक गराउनु, बर्षैपिच्छे सर्भिस सेन्टरमा लानु तथा गाडीको कण्डिसन पास गराउनु यहाँको सरकारी मापदण्ड नै छ । 

जरीवानाको हैरानी
सवारी साधनबाट हुने दुर्घटना घटाउनुका साथै सहज पार्किङ्ग र सबैलाई समान रुपमा हेर्ने यहाको कानुन भएता पनि विभिन्न कारणले जरिवानाले धेरै सवारी चालकलाई हैरान पार्ने गरेको छ । सानो तलबमा काम गर्ने चालकहरु जरिवानाबापत नराम्ररी प्रभावित हुने गरेका छन् । कम्पनीको सवारी चलाउने चालकले होस् या त आफ्नै सवारीमा यात्रा गर्नेले होस् सवारी चलाउँदाका बखत परेको जरिवाना आफैले तिर्नुपर्ने हुन्छ । सामान्य गल्तीदेखि लिएर ठूलो गल्ती हुँदा समेत जरीवानाबाट कसैले भाग्न सक्ने अवस्था यहाँ छैन । रोडमा राखिएका क्यामराका साथै र्याडरले समेत चालकले चलाईरहेको सवारीको गति निगरानी गरिरहेको हुन्छ । तोकिएको भन्दा चाडो सवारी गुडाएको खण्डमा तुरुन्त क्यामराले सवारीको लाइसेन्स प्लेटसहितको फोटो खिचिहाल्छ । यसो हँुदा कसैले पनि नाइनास्ती गर्ने अवस्था आउँदैन । 

एक सवारी चालककाअनुसार रोडमा कम्तीमा २ सय दिरामबाट जरिवाना सुरु हुन्छ भने गल्तीअनुसार हजारौसम्म जरिवाना राखिएको छ । रोडमा राखिएको क्यामरा र र्याडरका अलावा सादा पोसाकका प्रहरी तथा , पेट्रोलिङ्गमा रहेका प्रहरी तथा आरटिएका अधिकारीले गल्ती ठहर्याएको खण्डमा जतिबेलै जरिवाना तोक्न सक्छन् । तोकिएका सबै जरिवानाहरु तिर्न यहाँको प्रहरीको कार्यालयमा गइराख्नु भने पर्दैन । बजारमा रहेका मल्टिपेमेन्ट सिस्टमका मेसिनबाटै आफ्नो जरिवानाको विवरण थाहा पाउनुका साथै जरिवाना तिर्न पनि सकिन्छ । 

ठूलो जरिवाना परेकाहरुले एकैपल्टमा तिर्न नसके किस्ता किस्तामा समेत जरिवाना तिर्न सक्नेछन्।

कसरी लिने चालक अनुमति ? कति लाग्छ खर्च ? 
सामान्यतया एक ट्रायलमा पास गर्नसक्ने सहभागिले ५ हजार दिरामदेखि ७ हजार दिरामसम्म खर्च गरे लाईसेन्स निकाल्नसक्ने रोड एण्ड ट्रान्सपोर्ट अथोरिटि बताउँछ । एकपटक फेल हुने सहभागीले  ४ घण्टा प्राक्टिकल तालिम लिएर फेरी ट्रायलका लागि निवेदन दिनुपर्छ । हरेक पटक फेल हुँदा १२ सय दिराम देखि १५ सय दिरामसम्म खर्च गरेर अर्को ट्रायल दिन पाईन्छ ।  सवारी चालक अनुमतिपत्र लिन चाहाने व्यक्तिको पहिले नेपाली सवारी चलाएको लाईसेन्स भए थोरै कक्षा लिएर फाइनल ट्रायल दिन सक्छन् भने फ्रेसको हकमा ४० कक्षा लिएर मात्र फाईनल ट्रायलमा सहभागी हुन पाउँछन् । 

निवेदकको साथमा अरब मुलुकको  तथा युरोपियन युनियन, अमेरिका, जापान, दक्षिण अफ्रिका जस्ता देशको चालक अनुमतिपत्र भए ट्रायल नदिई सोझै लाईसेन्स परिवर्तन गर्न सक्छन् । सवारी चालक अनुमतिपत्र लिन ईच्छुकले आफू कार्यरत कम्पनीबाट उपलब्ध नो अब्जेक्सन लेटरका साथमा ईमिरेट्स आईडि लिएर दुवईमा रहेका जम्मा ७ वटा टे«निङ्ग स्कूल छन्, त्यहाँ गएर पनि निवेदन दिन सक्छन् ।