– अर्जुन तिमिल्सिना

काठमाण्डौ । खुला अर्थतन्त्रमा सबै कुराको निर्धारण बजारले नै गर्छ। वस्तुको मूल्य तथा ब्याजदर बजारबाटै निर्धारण भएमा भविष्यमा ब्याजदर के होला भनेर तरलता (लगानीयोग्य रकम) तथा बजारको अवस्था हेरेर अनुमान लगाउने विषय हो।

केही बैंकरहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिसँगै बैंकको ब्याजदर बढ्न सक्ने बताइरहेका बेला भदौ महिनादेखि केही बैंकहरुले ब्याजदर बढाउन पनि सुरु गरेका छन्। 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने अहिले नै सबै बैंकले ब्याजदर बढाएको अवस्था नरहेको बताए। ‘केहीले बढाएका छन्, केहीले बढाएका छैनन्’, उनले भने, ‘केही बैंकहरुलाई डिपोजिटको आवश्यकता पनि होला।’

दाहालले अन्तरबैंकिङ ब्याजदर बढेकोले तरलतामा दबाब परेको संकेत गर्ने बताए। ‘बैंकहरुमा तरलताको संकुचन भएको देखिन्छ, त्यसैले बैंकहरुले राष्ट्र बैंकबाट तरलता सापटी लिएका छन्’, उनले भने। 

सरकारी कोषमा पैसा थुप्रिएका कारण र पुँजीगत खर्चको रकमले तरलता केही सहज हुन सक्ने पनि दाहालले बताए। ‘कात्तिक–मंसिरमा केही दबाब पर्ला कि भन्ने हाम्रो अनुमान हो’, उनले भने, ‘तर ब्याज बढेमा बचत तथा मुद्दति दुवैको बढ्न सक्ने सम्भावना छ।’ 

मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत ढकालले पनि हाल अन्तरबैंकिङ ब्याजदर बढेकोले तरलतामा केही चाप हो कि भन्न सकिने बताए। ‘विकास बैंकहरुको हकमा मुक्तिनाथलाई समस्या छैन’, ढकालले भने, ‘तरलतामा चाप पर्न सक्ने सम्भावना भएको अहिले आएका डाटाबाट पनि केही हदसम्म अनुमान लगाउन सकिन्छ।’

सीसीडी रेसियो र सीडी रेसियोका बारेमा राष्ट्र बैंकको सर्कुलर आएपछि मात्रै प्रस्ट हुने ढकालले बताए। ‘तरलताको दबाब नयाँ बैंकभन्दा पुराना रिजर्भ बढी भएका र आक्रामक रुपमा लगानी गरिरहेका बैंकमा पर्न सक्छ’, उनले भने, ‘तर राष्ट्र बैंकको सर्कुलर नआएसम्म यही अवस्था हुन्छ भनेर भन्न मुश्किल छ।’ 

राष्ट्र बैंकको मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुले गुनासो गर्ने भएकोले परिपत्रमार्फत केही हेरफेर हुन पनि सक्ने ढकालको भनाइ छ। ‘ब्याजदरको मुख्य विषय तरलतामा भर पर्ने र तरलताको अवस्था रेमिट्यान्स तथा आयत–निर्यातमा भर पर्ने हुनाले अहिले नै ब्याजदरका विषयमा भन्न हतार हुनेछ’, उनले भने, ‘अहिले रेमिट्यान्स बढेकै छ तर आयात बढ्यो र रेमिट्यान्स घट्यो भने तरलतामा दबाब पर्न सक्छ र ब्याजदर पनि बढ्न सक्छ।’ 

यसैगरी चार्टर्ड अकाउन्टेन्ट तथा वित्त विश्लेषक हेमन्त बस्यालले अहिले क्लोजिङका कारण केही हदसम्म तरलता प्रभावित भएको बताए। ‘अहिले बैंकहरु खासगरी सीसीडी रेसियो हटाएर सीडी रेसियो बनाउने भएपछि बढी सशंकित भएकोजस्तो देखिन्छ’, उनले भने, ‘ब्याज के हुने भन्ने विषय मुख्यगरी तरलतामा भर पर्ने र तरलता रेमिट्यान्समा भर पर्ने भएकोले केही हदसम्म प्रभाव पर्न सक्छ। अब दसैँ पनि आउँदैछ। यसले आयत बढ्न देखिन्छ।’

रेमिट्यान्स नबढेको खण्डमा केही हदसम्म तरलतामा दबाब पर्न सक्ने बस्याल बताउँछन्। ‘पहिला पनि साउन–भदौबाटै तरलतामा केही हदसम्म दबाब पर्ने गथ्र्यो’, उनले भने, ‘त्यसैले ब्याजदरमा केही न केही प्रभाव पर्न सक्छ।’

राष्ट्र बैंकले सीडी गणना विधि ल्याउन चाहनुको मुख्य आशय निक्षेपको ब्याजदर बढाउनका लागि पनि हुन सक्ने बस्यालको तर्क छ। ‘पहिले एनआईसी एसियाले ब्याजदर आक्रामक रुपमा बढायो। त्यसैले अहिले केही बैंकहरु पहिले नै हासियार भएका हुन सक्छन्’, उनले भने, ‘अहिले डिपोजिट घटेकोले बैंकहरु त्रसित भएका हुन् तर बैंकको ब्याज त्यसरी ह्वातह्वाती बढ्दैन। वास्तविक रुपमा यस्तै हुन्छ भनेर भन्नलाई राष्ट्र बैंकको निर्देशन नआईकन भन्न सकिन्न।’