काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरु कर्जा दिन सक्ने अवस्थामा छन्। तर, उच्च ब्याजदरका कारण कुनै किसिमका कर्जाको माग छैन। अर्थात् बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न सक्ने अवस्थामा भए पनि कर्जाको माग नहुँदा प्रणालीमा अधिक तरलता छ।

चालु आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन नेचर लोन) पनि निरन्तर घट्दै गइरहेको छ। त्यसमा पनि वाणिज्य बैंकहरुबाट धेरै उक्त क्षेत्रमा जाने कर्जा घटेको हो।

विगतमा उच्च मात्रामा मार्जिन कर्जा लिएर सेयर कारोबार गरिरहेका लगानीकर्ताहरुले हाल राष्ट्र बैंकले गरेको कडाइसँगै अन्य विविध कारणले सेयर कर्जा स्वयंले लिन घटाएका हुन्। गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेको छ । योसँगै यस्तो कर्जा घट्न गएको हो। 

हाल सेयर बजार पनि अस्थिरत अवस्थामा रहेकाले पनि लगानीकर्ताले सेयर धितो राखेर बैंकबाट कर्जा लिन छाडेका हुन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले पुस मसान्तमा कुल ५८ अर्ब ४० करोड रुपैयाँमात्रै सेयर धितो कर्जा प्रवाह गरेको जनाएको छ। जुन चालु आर्थिक वर्षको पहिलो साउन महिना वाणिज्य बैंकहरुले ६१ अर्ब ५६ करोड रुपैयाँ मार्जिन नेचर लोन प्रवाह गरेका थिए। जुन पुससम्म आउँदा ३ अर्ब १६ करोड रुपैयाँले सेयर कर्जामा गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

पुसमा सबैभन्दा बढी सेयर कर्जा नबिल बैंकले गरेको छ। यो बैंकबाट लगानीकर्ताले ७ अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका छन्। त्यसपछि ग्लोबल आइएमई बैंकले ६ खर्ब ५४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा दिएका छन्। 

पुसमा सबैन्दा कम नेपाल एसबिआई बैंकबाट २ करोड रुपैयाँ मात्रै मार्जिन नेचर कर्जा प्रवाह भएको छ।

भदौमा वाणिज्य बैंकबाट ६० अर्ब ३१ करोड रुपैयाँ मार्जिन नेचर लोन लिएका लगानीकर्ताले असोजमा ६० अर्ब ३४ करोड रुपैयाँ लिएको थिए। यस्तै बैंकहरुले कात्तिकमा ५९ अर्ब ९१ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ। 

लगानीकर्ताले चालु आर्थिक वर्षको पाँचौँ महिना मंसिरमा ५८ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा लिएका थिए।