काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा तरलता व्यवस्था गर्न बैंकिङ प्रणालीमा ३१ खर्ब ४६ अर्ब रुपैयाँ बढी रकम पठाएको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकका अनुसार समीक्षा अवधिमा कुल रु.३१ खर्ब ४६ अर्ब ९९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको हो। जसमा रिपोमार्फत रु.३ खर्ब २२ अर्ब ४१ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु.२७ खर्ब ६ अर्ब ९३ करोड र ओभरनाइट तरलता सुविधा ३३ अर्ब ८१ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले खुद रु.४० खर्ब २६ अर्ब ४ करोड तरलता प्रवाह गरेको थियो।

समीक्षा अवधिमा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत रु. ५ अर्ब तरलता प्रशोचन गरेको छ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब २७ करोड खुद खरिद गरी रु.४ खर्ब २६ अर्ब २८ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड खुद खरिद गरी रु.१ खर्ब ८ अर्ब ३२ करोड तरलता प्रवाह गरिएको थियो।

यो अवधिमा अमेरिकी डलर २ अर्ब ६० करोड बिक्री गरी रु.३ खर्ब ३८ अर्ब १३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ६० करोड बिक्री गरी रु.३ खर्ब १० अर्ब २२ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।