काठमाण्डौ । चालु आर्थिक वर्षमा तरलता अभाव रहँदारहँदै पनि बैंक तथा वित्तीय क्षेत्रबाट १ खर्ब ३४ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा गएको देखिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हायर पर्चेजमा उक्त कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले अघिल्लो वर्षको तुलनामा यो वर्ष यस्तो कर्जा ३४ अर्ब रुपैयाँ कमी हो। 

तरलता अभावका बीच निक्षेप तान्न विगतमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका थिए। तर, पनि हायर पर्चेज कर्जामा भन्ने कुनै असर परेको देखिँदैन। 

बैंक तथा वित्तीय क्षेत्रले हायर पर्चेज कर्जा  व्यक्तिगत र व्यावसायिक हिसाबले दिने गर्छन्। यस्तो कर्जा धेरै मात्रामा व्यावसायिक हिसाबले गएको देखिन्छ। चैत मसान्तसम्म व्यावसायिकतर्फ ९५ अर्ब ४५ करोड ३ लाख रुपैयाँ र व्यक्तिगततर्फ जम्मा ३८ अर्ब ७५ करोड  रुपैयाँमात्रै हायर पर्चेज कर्जा गएको देखिन्छ। 

यसैगरी बैंक तथा वित्तीय संस्थाबाट रियल स्टेटतर्फ चैत मसान्तसम्म २ खर्ब ३९ अर्ब ७० करोड रुपैयाँ बराबर कर्जा गएको छ। अघिल्लो वर्ष चैतसम्म रियल स्टेटतर्फ २ खर्ब रुपैयाँ माथि कर्जा गएको थियो। ब्याजदर महँगो भए पनि समीक्षा अवधिमा ३९ अर्ब रुपैयाँ रियल स्टेट कर्जा गएको छ। 

रियल स्टेटमा पनि जग्गा खरिद र प्लटिङतर्फ सबैभन्दा बढी १ खर्ब ३८ अर्ब रुपैयाँबराबर कर्जा गएको छ।